YouVersion Logo
Search Icon

लूका 6:27-49

लूका 6:27-49 NCV

“तर मेरा कुरा सुन्‍नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर। तिमीलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यदि कसैले तिमीलाई एउटा गालामा हिर्कायो भने, अर्को गाला पनि थापिदेओ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने, तिम्रो दौरा पनि लैजान देओ। तिमीहरूसँग माग्ने सबैलाई देओ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने, ऊसँग त्यो फेरि फिर्ता नमाग। अरूहरूप्रति त्यही व्यवहार गर, जस्तो तिमीहरू तिनीहरूबाट चाहन्छौ। “यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्। अनि यदि तिमीलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्। यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू सर्वोच्‍चका सन्तान ठहरिनेछौ; किनकि परमेश्‍वर बैगुनी र दुष्‍टहरूप्रति पनि दयालु हुनुहुन्छ। तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ। “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमी पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीलाई पनि क्षमा गरिनेछ। देऊ, अनि तिमीलाई पनि दिइनेछ। प्रशस्त मात्रामा, खाँदी-खाँदी, हल्‍लाई-हल्‍लाई, र भरिएर पोखिने गरी तिम्रा पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।” उहाँले तिनीहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो: “के कुनै दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्छ र? के तिनीहरू दुवै नै खाडलमा पर्दैनन् र? चेला गुरुभन्दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ। “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको मुढाका विषयमा भने विचार नै गर्दैनौ? तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढाचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्नेछौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न ता खराब रूखले असल फल फलाउँछ। हरेक त्यसको आफ्नो फलबाटै रूख चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न ता ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। तर मेरो वचन सुन्‍ने, र तीअनुसार काम नगर्नेचाहिँ जग नै नहालिकन जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हो। त्यस घरमा भल ठोक्‍किने बित्तिकै, त्यो भत्क्यो र पूर्ण रूपले नाश भयो।”

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy