YouVersion Logo
Search Icon

भजनसंग्रह 85

85
देशको कल्‍याणको लागि प्रार्थना
1हे परमप्रभु! तपाईंले आफ्‍नो देशलाई दया गर्नुभएको छ,
तपाईंले फेरि इस्राएलको फलिफाप गराउनुभएको छ।
2तपाईंले आफ्‍ना प्रजाका पाप माफ गर्नुभएको छ,
तिनीहरूका सबै दुष्‍ट कामहरू क्षमा गर्नुभएको छ।
3तपाईं तिनीहरूसँग रिसाउन छोड्‍नुभयो
र आफ्‍नो बल्‍दो क्रोध थाम्‍नुभयो।
4हे परमेश्‍वर, हाम्रा उद्धारक, हामीलाई फर्काई ल्‍याउनुहोस्,
अब हामीसँग असन्‍तुष्‍ट नहुनुहोस्।
5के तपाईं सधैँभरि हामीसँग रिसाउनुहुने?
तपाईंको रिस कहिल्‍यै मर्दैन र?
6हामीलाई फेरि बलियो बनाउनुहोस्,
र हामी तपाईंका प्रजाले तपाईंको प्रशंसा गर्नेछौं।
7हे परमप्रभु! हामीलाई आफ्‍नो अटुट प्रेम देखाउनुहोस्
र हामीलाई उद्धारपूर्ण मद्दत दिनुहोस्।
8परमप्रभु परमेश्‍वरले के भन्‍दै हुनुहुन्‍छ, म सुन्‍दै छु,
यदि हामी आफ्‍ना मूर्ख चालमा फेरि हिँडेनौं भने
उहाँले आफ्‍ना प्रजाका लागि शान्‍ति दिने प्रतिज्ञा गर्नुहुन्‍छ।
9उहाँको आदर गर्नेहरूलाई बचाउन उहाँ साँच्‍चै तयार हुनुहुन्‍छ,
हामीलाई बचाउनलाई उहाँको उपस्‍थिति हाम्रो देशमा रहिरहनेछ।
10प्रेम र विश्‍वासनीयताले आपसमा भेट गर्नेछन्,
धार्मिकता र शान्‍तिले अँगालो मार्नेछन्।
11मानिसको भक्ति पृथ्‍वीदेखि उँभो उठ्‍नेछ,
परमेश्‍वरको धार्मिकताले स्‍वर्गदेखि तल हेर्नेछ।
12परमप्रभुले हाम्रो फलिफाप गराउनुहुनेछ
र हाम्रो जमिनले धेरै फसल उत्‍पादन गर्नेछ।
13धार्मिकताचाहिँ परमप्रभुको अघिअघि गएर
उहाँको निम्‍ति बाटो तयार गर्नेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 85