भजनसंग्रह 86
86
सहायताको लागि प्रार्थना
1हे परमप्रभु! मेरो बिन्ती सुन्नुभएर जवाफ दिनुहोस्
किनभने म असहाय र दुर्बल छु।
2मलाई मृत्युदेखि बचाउनुहोस् किनभने म तपाईंको नम्र भक्त हुँ;
मलाई बचाउनुहोस् किनभने म तपाईंको दास हुँ र तपाईंमा भरोसा राख्दछु।
3तपाईं मेरा परमेश्वर हुनुहुन्छ, यसैले मलाई अनुग्रह गर्नुहोस्।
म दिनभरि तपाईंलाई प्रार्थना गर्दछु।
4हे प्रभु! आफ्ना दासलाई आनन्दित तुल्याउनुहोस्
किनभने म तपाईंकहाँ मेरो प्रार्थना चढाउँदछु।
5हामीलाई क्षमा र भलाइ गर्नुहुने
र तपाईंलाई प्रार्थना गर्नेहरूलाई अटुट प्रेम गर्नुहुने तपाईं हुनुहुन्छ।
6परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्,
सहायताको लागि मैले गरेको पुकार सुन्नुहोस्।
7कष्टको समयमा म तपाईंलाई पुर्कादछु
किनभने तपाईंले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ।
8प्रभु, तपाईंजस्तो अरू कुनै ईश्वर छैन,
तपाईंले गर्नुभएजस्तो अरू कसैले पनि गर्न सकेको छैन।
9 #
प्रकाश 15:4
तपाईंले बचाउनुभएका सबै जातिहरूले
आएर तपाईंलाई दण्डवत् गर्नेछन्,
तिनीहरूले तपाईंको महान्ताको प्रशंसा गर्नेछन्।
10तपाईं सामर्थी हुनुहुन्छ र उदेकका कामहरू गर्नुहुन्छ,
तपाईं एक मात्र परमेश्वर हुनुहुन्छ।
11मैले कसो गर्नुपर्ने हो, हे परमप्रभु, मलाई सिकाउनुहोस्
र विश्वासयोग्यतासाथ म तपाईंको आज्ञा मान्नेछु।
पूरा भक्तिसित तपाईंको सेवा गर्न मलाई सिकाउनुहोस्।
12हे प्रभु, मेरा परमेश्वर, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु,
म सधैँभरि तपाईंको महान्ताबारे घोषणा गर्नेछु।
13ममाथि तपाईंको कति ठूलो अटुट प्रेम छ,
तपाईंले मलाई चिहानदेखि बचाउनुभएको छ।
14हे परमेश्वर, घमण्डीहरू मेरा विरुद्धमा आउँदै छन्,
एक हुल निष्ठुर मानिसहरू, जसले तपाईंलाई ध्यानै दिँदैनन्,
तिनीहरूले मलाई मार्ने चेष्टामा छन्।
15तर हे प्रभु, तपाईं दयामाया र प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ,
तपाईं सदासर्वदा धीरजी, दयालु र विश्वासयोग्य हुनुहुन्छ।
16मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्,
मलाई बल दिनुहोस् र बचाउनुहोस्
किनभने मेरी आमाजस्तै म तपाईंको सेवा गर्दै छु।
17परमप्रभु, मलाई तपाईंको भलाइको प्रमाण दिनुहोस्।
तपाईंले मलाई दिनुभएको सान्त्वना र मद्दत देखेर
मलाई घृणा गर्नेहरू लाजमा पर्नेछन्।
Currently Selected:
भजनसंग्रह 86: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.