YouVersion Logo
Search Icon

श्रेष्‍ठगीत 5

5
प्रेमी
1हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु;
मैले आफ्नो मूर्र मसलाहरूसहित बटुलेको छु।
मैले मेरो महको चाका र मेरो मह खाएको छु,
मैले मेरो दाखमद्य र मेरो दूध पिएको छु।
मित्रहरू
हे मित्रहरू हो, खाओ र पिओ;
प्रेमीहरू हो, अघाउन्जेल पिओ।
प्रेमिका
2म त सुतेँ, तर मेरो हृदय जागै रह्‍यो;
सुन! मेरा प्रियले ढोका ढकढकाउँदै हुनुहुन्छः
“मेरी प्रेमी, मेरी प्रिय, मेरो निम्ति ढोका खोलिदेऊ;
मेरी ढुकुर, मेरी निष्खोट सुन्दरी,
मेरो शिर शीतले भिजेको छ;
रातको शितले मेरो कपाल भिजेको छ।”
3मैले मेरो वस्त्र फुकालीसकेकी छु—
के मैले त्यो फेरि लगाउनू?
मैले मेरा खुट्टा धोएकी छु—
के मैले ती फेरि मैला बनाउनू?
4मेरा प्रियले ढोका खोल्न चेपबाट हात भित्र छिराउँदा,
उहाँको निम्ति मेरो मुटु धड्कन लाग्यो।
5मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ,
मेरो हात र औँलाहरूबाट मूर्र चुहुँदैथियो;
र मेरा औँलाहरूबाट
ढोका समात्ने ठाउँमा मूर्र चुहियो।
6मैले मेरा प्रियको निम्ति ढोका खोलेँ,
तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ।
उहाँको बिदाइमा मेरो हृदय खिन्‍न भयो।
मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ।
मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन।
7सहरमा गस्ती गरिरहेका
पहरेदारहरूले मलाई भेट्टाए।
अनि तिनीहरूले मलाई हिर्काए र घाइते पारिदिए;
ती पर्खालहरूका पहरेदारहरूले
मेरो खास्टो खोसेर लगे!
8हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु—
यदि तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने,
उहाँलाई के भनौला?
म प्रेमले पागल भइसकेकी छु भनेर भनिदेओ।
मित्रहरू
9हे नारीहरूमध्ये परमसुन्दरी,
तिम्रा प्रिय कसरी अरूहरूभन्दा असल छन्?
तिम्रा प्रियचाहिँ कसरी अरूहरूभन्दा असल छन्,
र तिमी हामीलाई यसरी आग्रह गर्दछ्यौ?
प्रेमिका
10हे यरूशलेमका छोरीहरू हो,
दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्‍ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ।
11उहाँको शिर निखुर सुनको छ;
उहाँको केश घुम्रिएको
र कागझैँ कालो छ।
12उहाँका आँखाहरू
पानीका जलकुण्डको छेउमा बसेका ढुकुरहरूजस्ता,
दूधले पखालिएको,
बहुमूल्य पत्थर जडिएका जस्ता छन्।
13उहाँका गाला सुगन्ध फैलाउने
मसलाहरूका ड्याङझैँ छन्।
उहाँका ओठ मूर्र चुहाउने
लिली फूलसमान छन्।
14उहाँका पाखुरा पीतमणि जडेका
सुनका डण्डाजस्तै छन्।
शरीर नीलमणि जडेको चिल्‍लो,
टल्कने हस्तीदन्तझैँ छ।
15उहाँका गोडा निखुर सुनको जगमा बसालिएका
सिङ्गमरमरका खम्बा हुन्।
उहाँको रूप लेबनानका
उत्तम देवदारुजस्तै देखिन्छ।
16उहाँको मुख मिठासपूर्ण छ;
उहाँ सम्पूर्ण रूपले सुन्दर हुनुहुन्छ।
उहाँ नै मेरा प्रिय, मेरा मित्र हुनुहुन्छ,
हे यरूशलेमका छोरीहरू हो।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in