YouVersion Logo
Search Icon

हितोपदेश 7

7
व्यभिचारिणी स्त्रीको विरुद्ध चेतावनी
1हे मेरो छोरा, मेरा वचनहरू पालन गर,
र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख।
2मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ,
मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख।
3तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख,
तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख।
4बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,”
र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।”
5तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट
र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।
6आफ्नो घरको झ्यालमा
त्यसको आँखीझ्यालबाट मैले बाहिर हेरेँ।
7मैले सोझाहरूको बीचमा,
मैले जवान मानिसहरूमध्ये
विवेक नभएको एउटा जवानलाई देखेँ।
8त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो;
त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो।
9दिन ढल्दै गरेको साँझको समय थियो,
रातको अन्धकार बढ्दै थियो।
10तब एउटी स्त्री त्यसलाई भेट्न आई,
चरित्रहीन स्त्रीको जस्तै वस्त्र पहिरेकी र धूर्त नियत भएकी,
11(त्यो चञ्चल र अभिमानी छे;
त्यसका पाउहरू कहिल्यै घरमा बास बस्दैनन्,
12त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे;
त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।)
13तब त्यसले त्यसलाई समाती र चुम्बन गरी,
अनि लाजै नमानी त्यसले भनी:
14“मैले घरमा मेलबलि चढाउनु परेको छ;
आज मैले आफ्नो भाकल पूरा गरेकी छु।
15त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ,
मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु!
16मैले मेरो ओछ्यानमा
इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्‍ना बिछ्याएकी छु।
17मैले मेरो ओछ्यानमा
मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु।
18आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्‍त बनौँ,
हामी प्रेममा मस्त होऔँ!
19मेरा पति घरमा हुनुहुन्‍न,
उहाँ लामो यात्रामा जानुभएको छ।
20उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ,
र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्‍न।”
21लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई;
उसले त्यसलाई मोहित कुराले फसाई।
22मारिनका निम्ति लगिएको गोरुझैँ,
पासोमा फस्‍न लागेको मृगझैँ,
त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो,
23काँडले त्यसको कलेजो नरोपिएसम्म,
एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै,
त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्‍ने थाहा हुँदैन।
24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन,
म जे भन्छु, त्यसमा ध्यान देओ।
25त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ,
न त त्यसका मार्गहरूतिर हिँड।
26त्यसले धेरैलाई शिकार बनाएकी छे;
त्यसद्वारा नष्‍ट पारिएकाहरू असंख्य छन्।
27त्यसको घर चिहानको राजमार्ग हो,
जसले मृत्युका कोठाहरूतिर पुर्‍याउँछ।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for हितोपदेश 7