YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 22

22
यरूशलेमलाई परमेश्वरको सन्देश
1दिव्य दर्शनको बेंसी बारे दु:खको सन्देश:
हे यरूशलेम तिमीलाई के भयो?
किन तिनीहरू माथिको तलामा लुकिरहेछौ?
2विगतमा, यो शहर अत्यन्त खुशी थियो।
यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो।
तर, अहिले स्थिति परिवर्तन भयो।
तिमीहरूका मानिसहरू मारिए
तर तरवारहरूले होइन्।
मानिसहरू मरे तर युद्धमा लडेर होइन्।
3तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए।
तर तिनीहरू सबै नै पक्राउ परे।
अनि तिनीहरूसित धनुष थिएनन्।
सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे।
4यसकारण म भन्छु, “मलाई नहेर!
मलाई चिच्याउन देऊ!
यरूशलेम नष्ट भई सकेपछि
मलाई सान्त्वना दिन अघि नबढ।”
5परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एक-अर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्। 6एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्। 7सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। 8त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।
9-11दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।
तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। 12यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दु:खी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
13तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेंडा़हरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् अनि भनिरहेकाछन्,
“गाईहरू अनि भेंडा़हरू मार,
आऊ अनि खुशी मनाउँ,
खाऊ अनि पिऊ,
किनभने भोलि हामी मर्नेछौं।”
14सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।
शेब्नालाई परमेश्वरको सन्देश
15मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो। 16उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।
17-18“हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।”
परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्। 19म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ। 20त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो। 21म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।
22“म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन। 23म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ। 24आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।
25“त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for यशैयाको पुस्तक 22