YouVersion Logo
Search Icon

भजनसंग्रह 83

83
इस्राएलका शत्रुहरूको हारको लागि प्रार्थना
1हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्,
चुप नबस्‍नुहोस्! निष्‍क्रिय नहुनुहोस्, हे परमेश्‍वर!
2हेर्नुहोस्! तपाईंका शत्रुहरूले विद्रोह गरेका छन्
र तपाईंलाई घृणा गर्नेहरूले विरोध गर्दछन्।
3तपाईंका प्रजाको विरुद्धमा तिनीहरूले लुकेर जाल रच्‍दै छन्,
तपाईंका रक्षा पाएकाहरूका विरुद्धमा जाल गर्दै छन्।
4तिनीहरू भन्‍छन्, “आओ, हामी तिनीहरूको देश नष्‍ट गरिदेऔं
र इस्राएललाई सधैँको लागि सबैले बिर्सनेछन्।”
5तिनीहरू आफ्‍ना युक्तिमा एक मत हुन्‍छन्
र तपाईंको विरुद्धमा एकमत भएर खडा हुन्‍छन्।
6एदोमका मानिसहरू र इश्‍माएलीहरू,
मोआबका मानिसहरू र हग्रीहरू,
7गबाली, अम्‍मोनी, अमालेकी, पलिश्‍ती र टुरोसका मानिसहरू,
एक भएर खडा भएका छन्।
8लोतका सन्‍तानहरूलाई सहायता दिनलाई
अम्‍मोनी र मोआबी मित्र राष्‍ट्रको जतिकै बलियो अश्‍शूर पनि तिनीहरूसँग मिलेको छ।
9 # न्यायकर्ता 7:1-23; न्यायकर्ता 4:6-22 तपाईंले कीशोन खोलामा सीसरा र याबीनलाई जसो गर्नुभएको थियो,
त्‍यस्‍तै मिद्यानीहरूलाई गर्नुहोस्।
10एन्‍दोरमा तिनीहरूको हार गराइदिनुभयो,
र जमिनमा तिनीहरूको लाश सडिरह्‌यो।
11 # न्यायकर्ता 7:25; न्यायकर्ता 8:12 ओरेब र जएबसँग जसो गर्नुभयो, तिनीहरूका अगुवाहरूसँग त्‍यस्‍तै गर्नुहोस्।
जेबह र सल्‍मुन्‍नालाई जस्‍तै तिनीहरूका शासकहरूको हार गराउनुहोस्।
12तिनीहरूले “परमेश्‍वरको जमिन हाम्रो बनाउनेछौं,” भनेका थिए।
13हे परमेश्‍वर, धुलोझैँ, हावाले उडाएका परालझैँ
तिनीहरूलाई छरपष्‍ट पार्नुहोस्।
14जङ्गल आगोले डढाएझैँ, पहाडमा आगो सल्‍केझैँ,
15आँधी र डरलाग्‍दो हुरीले
तिनीहरूलाई थरथरी पारेर खेद्‌नुहोस्,
16हे परमप्रभु, तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्
र तिनीहरूलाई तपाईंको शक्ति स्‍वीकार गर्न लगाउनुहोस्।
17तिनीहरू सदाकालका लागि हारून् र डराऊन्,
तिनीहरू पूरा बदनामका साथ मरून्।
18तिनीहरूले तपाईं मात्र परमप्रभु,
सारा पृथ्‍वीका सर्वोच्‍च शासक हुनुहुन्‍छ भनी जानून्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 83