भजनसंग्रह 139
139
परमेश्वरको सिद्ध ज्ञान र हेरचाह
1परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र चिन्नुहुन्छ।
2मैले गरेका सबै काम तपाईंले जान्नुहुन्छ,
टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्नुहुन्छ।
3म काम गर्दा वा विश्राम लिंदा तपाईंले मलाई देख्नुहुन्छ,
तपाईंले मेरा सबै काम जान्नुहुन्छ।
4मेरो ओठ खोलिनुभन्दा अघि नै
मैले के भन्न लागेको छु, सो तपाईंले जानिसक्नुभएको हुन्छ।
5मेरा चारैपट्टि, हरेक दिशामा तपाईं हुनुहुन्छ,
आफ्नो बलले तपाईंले मेरो रक्षा गर्नुहुन्छ।
6मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ,
त्यो मेरा समझशक्तिले म बुझ्न सक्दिनँ।
7तपाईंदेखि भागेर म कहाँ जान सक्छु र?
तपाईंको उपस्थितिबाट म कहाँ टाढा हुन सक्छु र?
8म उँभो स्वर्गमा गएँ भने, त्यहाँ तपाईं हुनुहुन्छ;
म मृत्यु-लोकमा उत्रें भने त्यहाँ तपाईं हुनुहुन्छ।
9पूर्वमा धेरै टाढासम्म उडी गएँ भने,
वा पश्चिममा टाढाभन्दा टाढामा गई बास गरें भने,
10मलाई डोर्याउन भनी तपाईं त्यहाँ हुनुहुन्छ,
मलाई सहायता दिन भनी तपाईं त्यहाँ पनि हुनुहुन्छ,
11अन्धकारलाई म “मलाई लूका” भन्न सकूँला,
वा मेरा चारैपट्टिका उज्यालोलाई “रात बन्” भन्न सकूँला,
12तर अन्धकार तपाईंको लागि अँध्यारो हुँदैन,
र रातचाहिँ दिनजस्तै उज्यालो हुन्छ,
तपाईंको निम्ति रात र दिन एकै हुन्।
13तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो,
आमाको गर्भमा तपाईंले मलाई रच्नुभयो।
14म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्नु पर्दछ,
तपाईंका सबै काम उदेकका र अचम्मका छन्,
यी सबै कुरा म आफ्नो हृदयबाट जान्दछु।
15जब मेरा हड्डीहरू बनिंदैथिए,
मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए,
र अदृश्यमा म त्यहाँ बढ्दैथिएँ,
त्यति बेला म त्यहाँ छु भनी तपाईं जान्नुहुन्थ्यो।
16मेरो जन्म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्नुभएको हो,
मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै
तपाईंको पुस्तकमा लेखिएका थिए।
17हे परमेश्वर, तपाईंका विचारहरू कति अमूल्य छन्,
र सङ्ख्यामा ती विचारहरू कति धेरै छन्!
18मैले तिनीहरूको गन्ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्,
म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्छु।
19हे परमेश्वर, मेरो यस्तो इच्छा छ–
सबै दुष्टहरू तपाईंका हातबाट नाश होऊन्।
ज्यानमाराहरू मदेखि टाढै रहून्।
20तिनीहरूले तपाईंको बारेमा दुष्ट कुरा गर्छन्,
तपाईंको नामको विरुद्धमा दुष्ट कुरा भन्छन्।
21हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई म कति घृणा गर्दछु,
तपाईंका विरोध गर्नेहरूलाई, म कति तुच्छ ठान्दछु।
22म तिनीहरूलाई औधी घृणा गर्दछु,
म तिनीहरूलाई आफ्ना शत्रु भन्ठान्छु।
23मलाई जाँच्नुहोस्, हे परमेश्वर,
मेरो मन बुझ्नुहोस्,
मलाई खार्नुहोस् र मेरा विचारहरू जान्नुहोस्।
24ममा केही दुष्टता छ कि खोज्नुहोस्
र मलाई अनन्तकालको बाटोमा डोर्याउनुहोस्।
Currently Selected:
भजनसंग्रह 139: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.