हबकूक 3:16-19
हबकूक 3:16-19 सरल नेपाली
मैले यी सबै सुन्दा मेरो मुटु काँप्दछ। डरले मेरा ओठहरू थरथराउँछन्। मेरा हड्डीहरू गलिजान्छ, मेरा खुट्टाहरू काँप्दछन्। म त्यस समयलाई चुपचाप पर्खिरहनेछु, जब परमेश्वरले हामीमाथि हमला गर्नेहरूलाई दण्ड दिनुहुनेछ। चाहे नेभाराको रूखमा मुना नलागोस् र दाखका बोटहरूमा अङ्गुर नफलोस्, जैतुनको बोटमा फल नफलोस्, र खेतमा अन्न नउब्जोस्, खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्तुहरू रहेनन् भने पनि मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्द मनाउनेछु किनभने परमप्रभु परमेश्वर मेरा उद्धारकर्त्ता हुनुहुन्छ। सार्वभौम परमप्रभु मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टाहरू हरिणका खुट्टाहरूझैँ छिटो बनाउनुहुन्छ र पर्वतहरूमाथि मलाई कुशल राख्नुहुन्छ।