YouVersion Logo
Search Icon

भजनसंग्रह 9

9
परमेश्‍वरको धार्मिक न्‍याय
सङ्गीत-निर्देशकको निम्‍ति “पुत्रको मृत्‍यु” को रागअनुसार दाऊदको भजन
1हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।
2म तपाईंमा रमाउनेछु र उल्‍लसित हुनेछु। हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु।
3मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्‍छन्‌, तिनीहरू तपाईंको सामुन्‍ने ठक्‍कर खाएर नष्‍ट हुन्‍छन्‌।
4किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्‍पक्ष न्‍याय गर्नुभएको छ।
5जाति-जातिहरूलाई तपाईंले हप्‍काउनुभएको छ
र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्‍ति मेटिदिनुभएको छ।
6शत्रुहरूमाथि अनन्‍त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्‍नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ।
7परमप्रभुले सदाकालको निम्‍ति राज्‍य गर्नुहुन्‍छ। उहाँले न्‍यायको निम्‍ति आफ्‍नो सिंहासन तयार पार्नुभएको छ।
8र उहाँले धार्मिकतासित संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले निष्‍पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्‍छ।
9थिचोमिचोमा परेकाहरूका निम्‍ति परमप्रभु किल्‍ला हुनुहुन्‍छ, कष्‍टको समयमा एउटा शरणस्‍थान।
10तपाईंको नाउँ जान्‍नेहरू जतिले आफ्‍नो भरोसा तपाईंमा राख्‍छन्‌, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्‍याग्‍नुभएको छैन।
11सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्‍तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।
12किनकि रगतको बदला लिनुहुनेले सम्‍झना गर्नुहुन्‍छ। सङ्कष्‍टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्‍ता गर्नुहुन्‍न।
13हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्‌। हेर्नुहोस्‌, मलाई घृणा गर्नेहरूबाट मैले कस्‍तो कष्‍ट भोग्‍नुपरेको छ। तपाईंले नै मलाई मृत्‍युको मुखबाट छुटाउनुहोस्‌,
14र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ,
र त्‍यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ।
15जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्‌। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्‌।
16परमप्रभु त उहाँकै न्‍यायद्वारा चिनिनुहुन्‍छ। दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको जालमा फसेका छन्‌। (हिग्‍गायोन) सेला
17दुष्‍टहरूचाहिँ पातालमै फर्केर जानेछन्‌, सबै जातिहरू, जसले परमेश्‍वरलाई बिर्सन्‍छन्‌।
18तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्‍यै चकनाचूर हुनेछैन।
19हे परमप्रभु, उठ्‌नुहोस्‌, मानिस विजयी हुन नपाओस्‌। जाति-जातिहरूको न्‍याय तपाईंको सामुन्‍ने होस्‌।
20हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्‍याउनुहोस्‌। तिनीहरू त मानिस मात्र हुन्‌ भनी जातिहरूले थाहा पाऊन्‌। सेला

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 9