YouVersion Logo
Search Icon

भजनसंग्रह 31

31
सङ्कष्‍टमा परमेश्‍वरमाथि भरोसा
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्‍यै पनि शर्माउनु नपरोस्‌, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्‌।
2मेरो पुकारा सुनिदिनुहोस्‌, मलाई झट्टै छुटाउनुहोस्‌। तपाईं मेरो निम्‍ति शरणको चट्टान हुनुहोस्‌, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्‌।
3मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्‍छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्‍याउनुहोस्‌।
4मेरो निम्‍ति गुप्‍तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्‌, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्‍छ।
5तपाईंकै हातमा म मेरो आत्‍मा सुम्‍पन्‍छु।#लूक २३:४६ हे परमप्रभु, हे सत्‍यका परमेश्‍वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्‌।
6व्‍यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु।
7तपाईंको कृपामा म आनन्‍द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्‍नुभयो,
र मेरो प्राणको वेदना तपाईंले जान्‍नुभयो।
8तपाईंले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन, तर तपाईंले मलाई फराकिलो ठाउँमा राख्‍नुभएको छ।
9ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्‍टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्‌
10मेरो जीवन वेदनामा,
र मेरो उमेरचाहिँ सुस्‍केरामा बितेका छन्‌। मेरो क्‍लेशको कारणले मेरो बल घटेको छ,
र मेरा हाड़हरू कमजोर भइसकेका छन्‌।
11मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्‍ति तुच्‍छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्‍नेहरू मदेखि भाग्‍छन्‌।
12मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्‌, म त फुटेको भाँड़ाजस्‍तै भएको छु।
13किनकि धेरैले मेरो विरुद्धमा निन्‍दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्‌,
र मेरो प्राण लिनलाई तिनीहरू षड्‌यन्‍त्र रच्‍छन्‌।
14तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।”
15मेरा समय तपाईंकै हातमा छन्‌, मेरा शत्रुहरूका हातबाट
र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌।
16तपाईंको मुहार आफ्‍नो दासमाथि प्रज्‍वलित होस्‌, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्‌।
17मैले शर्माउनु नपरोस्‌, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्‍टहरू शर्ममा परून्‌,
र पातालमा जाऊन्‌ र त्‍यहीँ चूपचाप रहून्‌।
18तिनीहरूका झूटा ओठहरू बन्‍द भइजाऊन्‌, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्‍कार र अहङ्कारसाथ बोल्‍छन्‌।
19तपाईंको भलाइ कति महान्‌ छ, जो तपाईंको भय मान्‍नेहरूका निम्‍ति तपाईंले राख्‍नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्‍ने दिनुभएको छ।
20तपाईंका उपस्‍थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्‌यन्‍त्रबाट तपाईंले लुकाउनुहुन्‍छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्‍नो वासस्‍थानमा सुरक्षित राख्‍नुहुन्‍छ।
21परमप्रभुको स्‍तुति होस्‌, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्‍नो उदेकको कृपा ममाथि देखाउनुभयो।
22आत्तिएको बेलामा मैले भनें, “तपाईंको दृष्‍टिबाट म टाढ़ा भएको छु।” तर तपाईंलाई गुहारको निम्‍ति पुकारा गर्दा,
तपाईंले कृपाको निम्‍ति मेरो पुकारा सुनिदिनुभयो।
23हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्‍ड दिनुहुन्‍छ।
24हे परमप्रभुमा आशा राख्‍ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 31