फिलिप्पी 3
3
शरीरमा भरोसा नराख्नू
1अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित होओ। तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूका सुरक्षाको निम्ति हो।
2कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस। 3किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौं। 4यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने, मेरो त झन् बढ़ी कारण छ। 5आठौँ दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी,#प्रे २३:६; २६:५; रोम ११:१ 6जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ।#प्रे ८:३; २२:४; २६:९-११
7तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें। 8साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, 9र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। 10म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। 11सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ।
लक्ष्यतिर अगि बढ्नु
12मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! 13भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै 14ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।
15हामी परिपक्व हुनेहरूचाहिँ सबै यस्तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। 16केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं।
17भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर।#१ कोर ४:१६; ११:१ 18मैले धेरै पल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्। 19विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ। 20तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं। 21उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।
Currently Selected:
फिलिप्पी 3: NNRV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012