YouVersion Logo
Search Icon

फिलिप्पी 2

2
1यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने, 2तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर। 3स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान। 4तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
6परमेश्‍वरको स्‍वरूपमा भएर पनि
उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
7तर आफैलाई रित्त्याईकन
कमाराको रूप धारण गरेर,
तथा मनुष्‍य भएर जन्‍मनुभयो।
8स्‍वरूपमा मानिसजस्‍तै भएर
आफैलाई होच्‍याउनुभयो,
र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
9त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो,
र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो,
जो हरेक नाउँभन्‍दा उच्‍च छ,
10कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले #यशै ४५:२३
येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
11र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति
येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।
ज्‍योतिझैँ चम्‍कनु
12यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। 13किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।
14गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ, 15कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।#व्‍य ३२:५ 16जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ। 17यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु। 18त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
तिमोथी र इपाफ्रोडिटस
19म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्‍न हुन सकूँ। 20तिनीजस्‍तो साँचो मनले तिमीहरूका कल्‍याणको चिन्‍ता गर्ने मानिस मसँग अरू कोही छैन। 21येशू ख्रीष्‍टका कुराको वास्‍ता नगरी, तिनीहरू सबै आफ्‍नै स्‍वार्थ खोज्‍छन्‌। 22तर तिमोथीको योग्‍यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्‍यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे। 23यसकारण मेरो निम्‍ति के-कसो हुन्‍छ सो बुझ्‍ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु। 24अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
25इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्‍यक ठानेको छु, 26किनकि तिनले तिमीहरू सबैका निम्‍ति अति तृष्‍णा गरिरहेका छन्‌। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्‍याकुल भएका छन्‌। 27तिनी साँच्‍चै मरणान्‍त बिरामी थिए, तर परमेश्‍वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस्‌ भनेर ममाथि पनि दया गर्नुभयो। 28यसकारण म तिनलाई पठाउन झन्‌ बढ़ी उत्‍सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्‍ता पनि कम हुनेछ। 29त्‍यसैले ज्‍यादै आनन्‍दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्‍ता मानिसहरूलाई आदर गर। 30किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्‍टका कामको निम्‍ति तिनी मृत्‍युको मुखैमा पुगेका थिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy