YouVersion Logo
Search Icon

हाग्‍गै 1

1
परमप्रभुको भवन निर्माणको आह्वान
1दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो। #एज्रा ४:२४—५:२; ६:१४
2सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू भन्‍छन्, ‘परमप्रभुको मन्‍दिर निर्माण गर्ने समय अझ आएको छैन’।”
3तब परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो: 4“यो मन्‍दिर भग्‍नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्‍ने समय यो हो र?”
5अब सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। 6तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्‍छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्‍याना हुँदैनौ। तिमीहरू काम गरेर ज्‍याला कमाउँछौ, तर प्‍वाल परेको थैलीमा राख्‍छौ।”
7सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। 8डाँड़ा-डाँड़ा उक्‍लेर काठपात ल्‍याओ र भवन बनाओ, र म त्‍यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्‍नुहुन्‍छ। 9“तिमीहरूले धेरै आशा गर्‍यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्‍यायौ, त्‍यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने मेरो भवनचाहिँ भग्‍नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्‍नो घरमा व्‍यस्‍त छौ। 10यसकारण आकाशले शीत पर्न र पृथ्‍वीले अन्‍न उब्‍जन रोकिदिएको छ। 11मैले खेतहरू र डाँड़ाहरू, अन्‍न र नयाँ दाखमद्य, तेल र जमिनले उब्‍जाउने जति सबैमा, मानिसहरूमा, पाल्‍तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”
12तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज र हाग्‍गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने।
13तब परमप्रभुका समाचारवाहक हाग्‍गैले प्रजालाई परमप्रभुको यो समाचार सुनाए: “म तिमीहरूसँगै छु” भनी परमप्रभु भन्‍नुहुन्‍छ। 14यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्‍मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान्‌ परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा काम गर्न सुरु गरे। 15दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy