उत्पत्तिको पुस्तक 46
46
इस्राएललाई परमेश्वरको विश्वसनीयता
1यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे। 2त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”
अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”
3तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु। 4म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”
इस्राएल मिश्र जान्छन्
5त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे। 6तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए। 7तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।
याकूबको परिवार
8तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः
रूबेन याकूबका जेठो छोरो थिए। 9रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।
10शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)
11लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
12यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।
13इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।
14जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
15रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।
16गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
17अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
18यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।
19याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
20मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।
21बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
22यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।
23हुशीम दानका छोरो थियो।
24नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
25याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।
26याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।) 27त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।
इस्राएल मिश्रमा पुग्छ
28याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए। 29यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
30तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”
31यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्। 32यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले सधैँ भेंडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’ 33जब फिरऊनले बोल्ने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’ 34तिमीहरूले उनलाई भन्नु, ‘हामी भेंडा गोठालाहरू हौं। जीवनभरि हामी भेंडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेंडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।”
ที่ได้เลือกล่าสุด:
उत्पत्तिको पुस्तक 46: NERV
เน้นข้อความ
คัดลอก
เปรียบเทียบ
แบ่งปัน
ต้องการเน้นข้อความที่บันทึกไว้ตลอดทั้งอุปกรณ์ของคุณหรือไม่? ลงทะเบียน หรือลงชื่อเข้าใช้
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International