YouVersion Logo
Search Icon

श्रेष्‍ठगीत 3

3
1रातभरि मैले मेरो ओछ्यानमा
मेरा हृदयको प्रेमीलाई खोजेँ;
मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ।
2अब म उठेर सहरतिर जानेछु,
गल्‍ली र चोकहरूहुँदो;
मेरा हृदयको प्रेमीलाई खोज्नेछु।
मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ।
3सहरमा घुम्‍दै गरेका पहरेदारहरूले
मलाई भेट्टाए;
मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?”
4म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ;
मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ।
मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ,
मेरी आमाको घरमा,
मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।
5हे यरूशलेमका छोरीहरू हो,
म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु:
उचित समय नभएसम्म
प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ।
6व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका
धूप र मूर्रको सुगन्धले
धुवाँको मुस्लोजस्तै,
उजाडस्थानबाट माथि आइरहेका को हुन्?
7हेर, सोलोमनको सवारी पालकी;
इस्राएलका सुयोग्य,
साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्।
8तिनीहरू सबैले तरवार भिरेका छन्,
सबै जना युद्धकलामा पोख्त छन्;
रातको हरेक खतरादेखि बचाउन,
हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्।
9सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्;
त्यो लेबनानको काठले बनिएको छ।
10त्यसका डण्डाहरू चाँदीले,
र आधार सुनले बनिएका छन्।
त्यसको आसन बैजनी लुगाले सजाइएको छ।
अनि भित्री भागमा चाहिँ
प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।
11हे सियोनका छोरीहरू हो, बाहिर आओ,
सोलोमन राजाले मुकुट पहिरेका हेर;
त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले
तिनको विवाहको दिनमा,
तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा,
तिनको शिरमा लगाइदिएकी थिइन्।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in