YouVersion Logo
Search Icon

भजनसंग्रह 145

145
भजन 145#145 यो भजनका प्रत्येक पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छन्
दावीदको प्रशंसाको भजन।
1हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु;
म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
2हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,
र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।
3याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;
उहाँको महानता अपार छ।
4एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;
तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।
5तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्—
र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।
6मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्—
र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।
7तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्,
र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।
8याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ;
रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।
9याहवेह सबैमाथि भलो हुनुहुन्छ;
र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।
10हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्;
तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।
11तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;
र तपाईंको शक्तिको बखान गर्नेछन्,
12ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,
र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।
13तपाईंको राज्य अनन्तको राज्य हो,
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।#145:13 केही प्राचीन पा.लि.हरूमा पद 13 का अन्तिम दुई हरफहरू पाइँदैनन्।
14लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;
दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।
15सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्;
अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।
16तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,
र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।
17याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।
18याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,
उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
19उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;
उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।
20उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ;
तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ।
21मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ;
हरेक प्राणीले सदासर्वदा
उहाँको पवित्र नामको प्रशंसा गरून्!

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 145