हितोपदेश 3
3
बुद्धिबाट प्राप्त हुने लाभहरू
1हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स;
तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
2किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ,
र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ।
3प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्,
ती तिमीले आफ्नो गलामा बाँधिराख,
ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
4तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा
निगाह र असल नाम कमाउनेछौ।
5तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
6आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
7आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
8यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ
र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
9आफ्ना धनसम्पत्ति
र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
10तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्,
र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।
11हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान,
र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;
12किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ,
जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
13त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्त गर्छ,
र जसले समझशक्ति प्राप्त गर्छ,
14किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ,
र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।
15बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ,
तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।
16यसको दाहिने हातमा दीर्घायु छ,
र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।
17यसका मार्गहरू आनन्ददायक हुन्छन्,
र यसका सबै बाटाहरू शान्तिका हुन्छन्।
18यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो,
यसलाई अपनाउनेहरूका लागि आशिष् हो।
19बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो,
समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,
20उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए,
र बादलहरूले शीत वृष्टि गरे।
21हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्टिबाट जान नदेऊ,
उचित न्याय र विवेकलाई जोगाइराख,
22ती तिम्रा निम्ति जीवन,
र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।
23तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ,
तब तिम्रा खुट्टाले ठेस खानेछैन।
24जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन,
जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
25तिमीलाई अचानक आउने विपत्तिको
अथवा दुष्टमाथि आइपर्ने विनाशको डर हुनेछैन।
26किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ,
र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्नदेखि बचाउनुहुनेछ।
27जसलाई भलाइ गर्नुपर्ने हो,
तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
28तिमीसित दिनलाई केही कुरा छ भने,
आफ्नो छिमेकीलाई “पछि आऊ,
म तिमीलाई भोलि दिनेछु” भनी नभन!
29आफ्नो नजिकमा भरपर्दो गरी बस्ने छिमेकीको विरुद्धमा
षड्यन्त्र नरच।
30कारणविना कुनै मानिसलाई दोष नलगाऊ,
जसले तिम्रो कुनै हानि गरेको छैन।
31हिंसात्मक मानिसप्रति डाही नबन,
अथवा त्यसको कुनै पनि बाटो नरोज।
32किनकि याहवेहले दुष्ट मानिसलाई घृणा गर्नुहुन्छ,
तर धर्मीहरूलाई आफ्नो विश्वासपात्र बनाउनुहुन्छ।
33दुष्टको घरमा याहवेहको श्राप रहन्छ;
तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।
34गिल्ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्ला गर्नुहुन्छ,
तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
35बुद्धिमान्हरूले सम्मान प्राप्त गर्दछन्;
तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।
Currently Selected:
हितोपदेश 3: NCV
Highlight
Share
Compare
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.