YouVersion Logo
Search Icon

हितोपदेश 28

28
1कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ;
तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।
2कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्;
तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।
3गरिबमाथि शोषण गर्ने शासक
अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।
4व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्;
तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।
5दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्,
तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।
6धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा
बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।
7विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्;
तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।
8ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ,
त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ।
9यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने,
त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।
10जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ,
त्यो आफ्नै पासोमा फस्‍नेछ;
तर निर्दोषले प्रशस्त अंश पाउनेछ।
11धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ;
तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ।
12धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ;
तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
13आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन;
तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
14धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ;
तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।
15असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक
गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।
16अत्याचारी शासकको विवेक हुँदैन;
तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।
17हत्याको दोषले सताएको मानिस
चिहानमा शरण लिनेछ;
कसैले पनि त्यसलाई सहायता नगरोस्।
18निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ;
तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।
19आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ;
तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।
20विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ;
तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।
21पक्षपात गर्नु उचित होइन;
तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।
22लोभी मानिस धनी हुने लालसा गर्छ;
र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।
23कुनै मानिसलाई हप्काउनेले अन्त्यमा
चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ।
24आफ्नो बुबा वा आमालाई लुटेर
“यो त भूल होइन” भन्‍ने व्यक्ति
विनाशकारीको साझेदारजस्तै हो।
25लोभी मानिसले फाटो ल्याउँछ;
तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ।
26आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो;
तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।
27जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन;
तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ।
28दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्;
तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for हितोपदेश 28