YouVersion Logo
Search Icon

हितोपदेश 26

26
1ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै,
मूर्खलाई सम्मान सुहाउँदैन।
2भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै,
कारणविनाको श्राप पनि लाग्दैन।
3घोडाको लागि कोर्रा, गधाको लागि लगाम,
र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ!
4मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ,
नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ।
5मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ,
नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ।
6मूर्खको हातमा समाचार पठाउनु भनेको
आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो।
7मूर्खको मुखमा हितोपदेश
अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो।
8मूर्खलाई सम्मान दिनु
घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो।
9मूर्खको मुखमा हितोपदेश
मतवालाको हातमा भएको काँडे झारजस्तै हो।
10मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु
धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो।
11कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै,
मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ।
12के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ?
त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
13अल्छेले भन्छ, “बाटोमा सिंह छ,
एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।”
14ढोका कब्जामा यताउता फर्केजस्तै,
अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ।
15अल्छेले आफ्नो हात थालमा राख्छ,
तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ।
16सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा,
एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ।
17बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु,
कुकुरलाई कानमा समात्नुजस्तै हो।
18-19आफ्नो छिमेकीलाई छल गरिसकेपछि,
“मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति
अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो।
20दाउराविना आगो निभ्छ;
कुरौटेविना झगडा शान्त हुन्छ।
21भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै,
झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ।
22कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्,
ती मानिसका भित्री भागहरूमा पुग्छन्।
23माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै,
दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्।
24शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ,
तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ।
25त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्‍वास नगर;
किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ।
26त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ,
तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ।
27कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ;
कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।
28झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ,
र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for हितोपदेश 26