हितोपदेश 21:1-9
हितोपदेश 21:1-9 NCV
राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ। मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ। ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ। अहङ्कारी आँखा र अभिमानी हृदय— दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ। परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्याउँछ। झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो। दुष्टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्। दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ। कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्नु असल हो।