YouVersion Logo
Search Icon

हितोपदेश 1

1
उद्देश्य र विषय
1इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
2बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति,
अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति,
3विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति
जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
4सोझाहरूलाई#1:4 मूल भाषामा प्रयोग गरिएको शब्द सोझा ले हितोपदेशमा सहजै बहकाउन सकिने, नैतिक दिशामा नभएको र दुष्‍टतातिर झुकेको व्यक्तिलाई जनाउँदछ। समझदार,
जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—
5बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्;
र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—
6हितोपदेश र दृष्‍टान्तहरू,
बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।
7याहवेहको भय ज्ञानको सुरुवात हो,
तर मूर्खले#1:7 हितोपदेश र पुरानो करारका धेरै स्थानहरूमा अनुवाद गरिएको मूल शब्द मूर्ख ले नैतिकताको कमी भएको व्यक्तिलाई जनाउँदछ। चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
प्रस्तावना: बुद्धिलाई अँगाल्ने सल्‍लाह
पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी
8हे मेरा छोराछोरी,#1:8 मूल भाषामा छोरा आफ्ना बुबाको शिक्षा सुन
र आफ्नी आमाको शिक्षालाई नत्याग।
9ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट
र तिम्रा गलामा सम्मानको हार हुन्।
10हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने,
तिनीहरूसँग नलाग!
11तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ,
हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,”
हामी कुनै निर्दोषलाई आक्रमण गरौँ;
12हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ;
र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ,
13हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ;
र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ;
14तिमी हाम्रो साझेदार बन,
यो धन हामी सबैको हुनेछ।
15हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ;
तिनीहरूका मार्गमा खुट्टै नटेक!
16किनकि तिनीहरूका खुट्टा दुष्‍ट काम गर्न हतारिन्छन्,
तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्।
17चराहरूले देख्ने गरी
जाल बिछ्यानु कति निरर्थक हुन्छ!
18यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्,
तिनीहरूले आफैँलाई पासो थाप्दछन्!
19बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्,
जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।
बुद्धिको हप्काइ
20बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे;
त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;
21व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे;
सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।
22तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ?
कहिलेसम्म गिल्‍ला गर्नेहरू गिल्‍ला गर्नमै रमाउँछौ?
र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?
23मेरो हप्काइ सुनेर पश्‍चात्ताप गर,
म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु;
मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
24तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्‍न नचाहेकाले,
र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले,
25तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठानेका हुनाले
र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले,
26यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु;
विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु;
27विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा,
जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ;
जब सङ्कष्‍ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।
28“तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ;
तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।”
29तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले,
र याहवेहप्रति भय मान्‍न नचाहेका हुनाले;
30तिनीहरूले मेरो सल्‍लाह ग्रहण नगरेका,
र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले,
31तिनीहरूले आफ्ना कामको फलबाट खानेछन्
र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्।
32आफ्नै पथभ्रष्‍टताले गर्दा सोझाहरू मर्नेछन्,
र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ।
33तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, ऊ सुरक्षित रहनेछन्,
र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in