YouVersion Logo
Search Icon

लूका 7

7
कप्‍तानको विश्‍वास
1येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि, उहाँ कफर्नहुममा आउनुभयो। 2त्यहाँ एकजना कप्‍तानको#7:2 100 जना सिपाहीका सेनापति तिनले अति माया गर्ने सेवक बिरामी भएर मर्नै लागेको अवस्थामा थियो। 3ती कप्‍तानले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन विन्ती गर्न पठाए। 4येशूकहाँ आएपछि तिनीहरूले उहाँलाई आग्रहपूर्वक विन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्, 5किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रो सभाघर पनि बनाइदिएका हुन्।” 6अनि येशू तिनीहरूसँग जानुभयो।
उहाँ घर नजिकै आइपुग्नुहुँदा कप्‍तानले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्‍न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ। 7त्यसकारण म आफैलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस् र मेरो सेवक निको हुनेछ। 8किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनतामा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज,’ भन्छु, अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, अनि त्यसले त्यो गर्छ।”
9यो सुनेपछि येशू तिनीसँग आश्‍चर्य चकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यति ठूलो विश्‍वास इस्राएलीहरूमा पनि देखेको छैनँ।” 10त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के, र सेवकलाई निको भइसकेको भेट्टाए।
येशूद्वारा विधवाको छोरा जीवित पारिएको
11त्यसपछि चाँडै येशू नाइन भनिने एउटा शहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए। 12उहाँ शहरको ढोकानिर पुग्नुहुँदा, एउटा मरेको व्यक्‍तिलाई शहरबाहिर लगिँदैथियो। ऊ आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। अनि शहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो। 13प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्‍नुभयो, “नरोऊ।”
14त्यसपछि उहाँले गएर अर्थी छुनुभयो; र ती बोक्नेहरू टक्‍क अडिए। अनि उहाँले भन्‍नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!” 15तब त्यो मृत मानिस उठेर बस्यो, र बोल्न थाल्यो, अनि येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो।
16तिनीहरू सबै भयभीत भएर परमेश्‍वरको प्रशंसा गरे, र भने, “हाम्रा बीचमा एकजना महान् अगमवक्‍ता प्रकट भएका छन्। परमेश्‍वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।” 17येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो।
येशू र बप्‍तिस्मा दिने यूहन्‍ना
18यूहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराहरूका खबर दिए। तीमध्ये दुईजनालाई बोलाएर, 19तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “के जो आउनेवाला मुक्‍तिदाता हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौं?”
20ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘के जो आउनेवाला मुक्‍तिदाता हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौं?’ ”
21ठीक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्‍ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिनुभयो। 22त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौं, त्यो यूहन्‍नालाई भन: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन्, हिँड्न नसक्‍नेहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, सुन्‍न नसक्नेहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।#7:22 यशै 35:5-6; 61:1 23त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”
24यूहन्‍नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्‍नाका विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई? 25यदि होइन भने, तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई? होइन, महङ्गो लुगा लगाउने र विलासमा रहनेहरू त दरबारमा हुन्छन्। 26तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्‍ताभन्दा पनि महानलाई। 27यी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ:
“ ‘म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु,
जसले तिम्रो अघि-अघि तिम्रो बाटो तयार पार्नेछन्।’#7:27 मला 3:1
28म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि यूहन्‍नाभन्दा महान् छैन; तापनि परमेश्‍वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुनेछ।”
29(सबै मानिसहरू, कर उठाउनेहरूसमेत सबैजनाले येशूको यो वचन सुनेर परमेश्‍वरको मार्ग ठीक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिए। 30तर फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले परमेश्‍वरको अभिप्रायलाई अस्वीकार गरे, किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिएनन्।)
31येशूले भन्‍नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्? 32तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्‍ने बालकहरूजस्ता छन्:
“ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौं,
तर तिमीहरू नाचेनौ,
हामीले शोकको गीत गायौं,
तर तिमीहरू रोएनौ।’
33किनकि बप्‍तिस्मा दिने यूहन्‍ना न रोटी खाँदै, न ता दाखमद्य पिउँदै आए, अनि तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्दछौ। 34मानिसका पुत्र खाँदै र पिउँदै आएँ, अनि तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्‍कड, अनि कर उठाउनेहरू र पापीहरूको मित्र!’ 35तर बुद्धि ठीक छ भन्‍ने त त्यसका सबै सन्तानले प्रमाणित गर्छन्।”#7:35 यसको अर्थ हो: परमेश्‍वरको बुद्धि परमेश्‍वरको आज्ञा मान्‍नेहरूमा प्रकट हुन्छ
पापी स्त्रीलाई क्षमा
36एकजना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए, र उहाँ ती फरिसीको घरमा टेबुलमा बसी आराम गर्दैहुनुहुन्थ्यो। 37जब त्यस शहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्‍नुभएको छ भन्‍ने सुनिन्, तब तिनले संगमरमरको एउटा भाँडोमा अत्तर लिएर त्यहाँ आइन्, 38र उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै, तिनले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि त्यसले आफ्नै कपालले उहाँका पाउहरू पुछी, र तिनीहरूमा चुम्बन गर्दै अत्तर घसी।
39उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्‍ता हुँदाहुन् ता यिनलाई कसले छुँदैछ, र यो कस्तो चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए, किनकि यो ता पापी स्त्री हो।”
40येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही भन्‍नु छ।”
तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्।”
41“एउटा साहूबाट दुईजनाले ऋण लिएका थिए। एक जनाले पाँच सय र अर्कोले पचास दिनार#7:41 एक दिनार बराबर एक दिनको ज्याला तिर्नुथियो। 42तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब तीमध्ये कसले तिनलाई बढी प्रेम गर्ला?”
43सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।”
येशूले भन्‍नुभयो, “तिमीले ठीक विचार गर्‍यौ।”
44अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आए। तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले ता आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्ना केशले पुछेकी छ। 45तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले ता म घरमा आएदेखि मेरा पाउमा चुम्बन गर्न छोडेकी छैन। 46तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले ता मेरा पाउमा अत्तर नै खन्याएकी छे। 47त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्, किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।”
48त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भए।”
49अब अरू पाहुनाहरूले आपसमा भन्‍न लागे, “पापहरू पनि क्षमा दिने यिनी को हुन्?”
50येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ।”

Currently Selected:

लूका 7: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy