YouVersion Logo
Search Icon

लूका 1:26-38

लूका 1:26-38 NCV

एलीशिबा गर्भवती भएको छैटौं महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत शहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दाविदको घरानाको योसेफ भन्‍ने एकजना मानिससँग भएको थियो। ती कन्याको नाउँ मरियम थियो। स्वर्गदूत तिनीकहाँ गए, र भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” तिनको वचन सुनेर मरियम विचलित भइन्, अनि यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ। तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र भनिनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाविदको सिंहासन दिनुहुनेछ, र उहाँले याकोबको घरानामाथि सदा-सर्वदा राज्य गर्नुहुनेछ, अनि उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” मरियमले स्वर्गदूतलाई सोधिन्, “यो कसरी हुन सक्ला, किनकि म ता एक कन्या हुँ?” स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। यसैगरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौं महिनामा छिन्। किनकि परमेश्‍वरको निम्ति कुनै पनि कुरा असम्भव छैन।” मरियमले भनिन्, “म प्रभुकी सेविका, मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy