YouVersion Logo
Search Icon

यशैया 2

2
याहवेहको पर्वत
1यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो:
2अन्तिम दिनहरूमा
याहवेहको मन्दिरको पर्वत
अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ,
र पहाडहरूभन्दा माथि उठाइनेछ;
अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्।
3धेरै जातिहरू आएर भन्‍नेछन्,
“आओ, हामीहरू याहवेहको पर्वतमा,
याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ।
उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ,
ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।”
व्यवस्था सियोनबाट
र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
4उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ;
अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ।
तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्,
र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्।
एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन,
न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
5हे याकोबका घराना, आओ,
र हामी याहवेहको ज्योतिमा हिँडौँ।
याहवेहको दिन
6हे याहवेह, तपाईंले आफ्नो प्रजा
याकोबका घरानालाई त्याग्नुभएको छ।
तिनीहरू पूर्वका अन्धविश्‍वासले भरिएका छन्;
तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन्
र तिनीहरूका रीतिरिवाज अपनाउँछन्।
7तिनीहरूको देश चाँदी र सुनले भरिएको छ,
तिनीहरूको धनसम्पत्ति अपार छ।
तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्;
तिनीहरूका रथहरूको गन्ती छैन।
8तिनीहरूको देशभरि मूर्तिहरू छन्;
तिनीहरू आफ्ना हातका कामहरू,
र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्।
9यसकारण मानिस होच्याइनेछ,
र हरेकलाई नम्र तुल्याइनेछ—
यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्!
10याहवेहको डरबाट
र उहाँको सर्वश्रेष्‍ठताको प्रतापबाट
चट्टानभित्र पस्, माटोमुनि लुक्!
11घमण्डीका आँखालाई नम्र तुल्याइनेछ;
अनि मानिसहरूको अहङ्कार तल झारिनेछ।
त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ।
12सबै अभिमानी र वैभवशालीहरूका निम्ति,
र उच्‍च पारिएकाहरू सबैका निम्ति,
सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ।
त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्।
13लेबनानका सबै अग्ला र ठूला देवदारु,
र बाशानका सबै फलाँटका रूखहरूका निम्ति,
14धरहराझैँ उठेका सबै पर्वत,
र सबै अग्ला डाँडाहरूका निम्ति,
15प्रत्येक ठूला धरहरा,
र प्रत्येक सुरक्षित पर्खालका निम्ति,
16तर्शीशको प्रत्येक व्यापारी जहाज,
र प्रत्येक राजकीय जहाजको निम्ति।
17मानिसको अभिमान चूर्ण पारिनेछ,
र मानिसहरूको घमण्ड नम्र बनाइनेछ;
त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ;
18अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्।
19जब पृथ्वी हल्‍लाउनलाई
याहवेह उठ्नुहुन्छ,
तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट
मानिसहरू चट्टानका गुफाहरूतिर
र पृथ्वीका प्वालहरूभित्र पस्‍नेछन्।
20त्यस दिन मानिसहरूले
आफ्ना लागि पुज्न भनी बनाएका
चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू
छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्।
21याहवेहले पृथ्वीलाई हल्‍लाउनलाई उठ्नुहुँदा
उहाँको डर र उहाँको वैभवको प्रतापबाट
तिनीहरू चट्टानका कन्दराहरूतिर
र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्।
22नाकको प्वालमा सास भएको मानिसमा
भरोसा राख्न छोडिदेओ,
त्यसको के मूल्य छ र?

Currently Selected:

यशैया 2: NCV

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in