होशे 6
6
पश्चात्ताप नगर्ने इस्राएल
1“आओ, हामी याहवेहतिर फर्कौँ।
उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ,
तर उहाँले हामीलाई निको पार्नुहुनेछ;
उहाँले हामीलाई चोट पार्नुभएको छ,
तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
2दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ;
तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ,
र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।
3हामी याहवेहलाई स्वीकार गरौँ;
हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ।
निश्चय नै सूर्य उदाएझैँ
उहाँ देखा पर्नुहुनेछ;
उहाँ हामीकहाँ हिउँदको झरीझैँ
र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
4“हे एफ्राइम, म तँलाई के गरूँ?
हे यहूदा, म तँलाई के गरूँ?
तेरो प्रेम बिहानको कुइरोझैँ
र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
5यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु;
मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु;
त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।#6:5 हिब्रूमा यसको अर्थ अनिश्चित छ।
6किनकि म बलिदान होइन, तर दया चाहन्छु,
र होमबलिहरूभन्दा परमेश्वरलाई चिनेको म चाहन्छु।
7आदमले जस्तै#6:7 आदमले जस्तै अथवा मानव जातिले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्;
तिनीहरूले त्यहाँ मप्रति विश्वासघात गरेका छन्।
8गिलाद दुष्ट मानिसहरूको सहर हो,
र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।
9जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्,
त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्;
आफ्ना दुष्ट योजनाहरू पूरा गर्न
तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।
10मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु:
त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ,
इस्राएल अपवित्र पारिएको छ।
11“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा,
हे यहूदा, तेरो निम्ति पनि
कटनीको समय तोकिएको छ।
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.