YouVersion Logo
Search Icon

उत्पत्ति 25

25
अब्राहामको मृत्यु
1अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो। 2तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्। 3योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए। 4मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए।
5अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए। 6तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए।
7अब्राहाम एक सय पचहत्तर वर्षसम्म बाँचे। 8तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मृत्यु भयो; अनि आफ्ना मानिसहरूसित मिल्न गए। 9तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे; 10त्यो खेत अब्राहामले हित्तीहरूबाट#25:10 अथवा हेतका वंशहरू किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए। 11अब्राहामको मृत्युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।
इश्माएलका छोराहरू
12अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्।
13जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्:
इश्माएलको जेठो छोरा नबायोत,
केदार, अदबील, मिब्साम,
14मिश्मा, दुमा, मस्सा,
15हदद, तेमा, यतूर,
नापीश र केदमा।
16इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्।
17इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए। 18तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।
याकोब र एसाव
19अब्राहामका छोरा इसहाकको विवरण यही हो।
अब्राहाम इसहाकका पिता भए; 20अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।
21आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्। 22तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।
23तब याहवेहले तिनलाई भन्‍नुभयो,
“तेरो गर्भमा दुई राष्ट्रहरू छन्,
अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्;
एउटा जाति अर्कोभन्दा बलियो हुनेछ;
अनि जेठोले कान्छोको सेवा गर्नेछ।”
24जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए। 25पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव#25:25 एसाव जसको अर्थ रौँ नै रौँ भएको। राखे। 26त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्‍चा समातेको थियो; यसकारण त्यसको नाम याकोब#25:26 याकोब जसको अर्थ कुर्कुच्‍चा समात्छन् हिब्रू चलनअनुसार याकोबको अर्थ छली हो। राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
27ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे। 28इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।
29एक पल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए। 30एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)
31याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्‍ठ अधिकार#25:31 ज्येष्‍ठ अधिकार यो पिताबाट प्राप्‍त हुने अधिकार हो; यस अधिकारअनुसार जेठाले अरू दाजुभाइभन्दा दुईगुणा बढ्ता अंश प्राप्‍त गर्दथे। मलाई बेच।”
32एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्‍ठ अधिकारको के काम?”
33तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्‍ठ अधिकार याकोबलाई बेचे।
34तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले।
यसरी एसावले आफ्नो ज्येष्‍ठ अधिकारलाई लत्याए।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in