YouVersion Logo
Search Icon

उत्पत्ति 20

20
अब्राहाम र अबीमेलेक
1अब अब्राहाम त्यहाँबाट अगि बढेर दक्षिणका इलाकातिर गए, र कादेश र शूरको बीचमा बसोबास गर्न थाले। तिनी केही समयका लागि गरारमा बसे; 2अनि त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको विषयमा, “यिनी मेरी बहिनी हुन्” भने, तब गरारका राजा अबीमेलेकले सारालाई झिकाए र तिनलाई लगे।
3तर एक रात सपनामा परमेश्‍वर अबीमेलेककहाँ आउनुभयो, र तिनलाई भन्‍नुभयो, “तैँले ल्याएको त्यस स्त्रीको कारण, तँ मरेतुल्य भएको छस्; त्यो विवाहित स्त्री हो।”
4अबीमेलेक तिनको नजिक गएका पनि थिएनन्; अनि तिनले भने, “प्रभु, के तपाईंले एउटा निर्दोष जातिलाई नष्‍ट गर्नुहुनेछ? 5के तिनले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेनन् र? अनि के साराले पनि ‘यिनी मेरा दाजु हुन्’ भनिन र? त्यसैले यो मैले शुद्ध विवेक र शुद्ध हातले नै गरेको हुँ।”
6तब परमेश्‍वरले सपनामा अबीमेलेकलाई भन्‍नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ। 7अब त्यस मानिसकी पत्नी फर्काइदे; किनकि ऊ एउटा अगमवक्ता हो; र उसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस्। तर यदि तैँले सारालाई फर्काइदिइनस् भने यो निश्‍चय जानिराख्, तँ र तेरा जे जति छन्, ती सबै मर्नेछन्।”
8भोलिपल्ट बिहानै अबीमेलेकले आफ्ना सबै कर्मचारीहरूलाई बोलाए, र जे भएको थियो, सो तिनीहरूलाई सबै सुनाए; तब तिनीहरू साह्रै डराए। 9तब अबीमेलेकले अब्राहामलाई भित्र बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेँ, र तपाईंले म र मेरो राज्यमाथि यस्तो दोष ल्याउनुभयो? तपाईंले मसँग कहिल्यै गर्नै नहुने कामहरू गर्नुभएको छ।” 10अनि अबीमेलेकले फेरि अब्राहामलाई सोधे, “यसो गर्नुको कारण के थियो?”
11अब्राहामले जवाफ दिए, “ ‘यस ठाउँमा पक्‍कै पनि परमेश्‍वरको भय छैन, र मेरी पत्नीको कारण तिनीहरूले मलाई मार्लान् भनी मैले सोचेँ।’ 12यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्। 13अनि जब परमेश्‍वरले मलाई मेरा पिताको घरानाबाट विदेशीझैँ घुम्नलाई निकाल्नुभयो, तब मैले सारालाई भनेँ, ‘तिमीले यसरी मलाई आफ्नो प्रेम देखाउन सक्छ्यौ: हामी जहाँ गए तापनि मेरो विषयमा “यिनी मेरा दाजु हुन् भन्‍नू।” ’ ”
14तब अबीमेलेकले भेडाबाख्रा, गाईबस्तु र दास-दासीहरू ल्याए, र ती अब्राहामलाई दिए; अनि तिनकी पत्नी सारालाई पुनः तिनीकहाँ फर्काइदिए। 15अनि अबीमेलेकले भने, “मेरो देश तपाईंको सामु छ; तपाईंलाई जहाँ मन पर्छ, त्यहीँ बस्‍नुहोस्।”
16सारालाई तिनले भने, “म तिम्रा दाजुलाई एक हजार शेकेल#20:16 लगभग 12 किलो चाँदी दिँदैछु। योचाहिँ तिमीसित भएका सबैको सामु तिमीप्रति लागेको अभियोगको हर्जानास्वरूप हो; तिमी सम्पूर्ण तवरले सत्य ठहरिएकी छ्यौ।”
17तब अब्राहामले परमेश्‍वरसित प्रार्थना गरे; अनि परमेश्‍वरले अबीमेलेक, तिनकी पत्नी र तिनकी दासीहरूलाई तिनीहरूले फेरि पनि सन्तान जन्माउन सकून् भनी निको पार्नुभयो; 18किनकि याहवेहले अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीहरूका कोख बन्द गरिदिनुभएको थियो।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in