गलाती 5:1-12
गलाती 5:1-12 NCV
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार। मेरो कुरामा ध्यान देओ। म पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्यौ भने ख्रीष्ट तिमीहरू सबैका निम्ति मूल्यहीन ठहरिनुहुनेछ। म फेरि पनि खतना गर्ने सबै मानिसहरूलाई भन्दछु, जसले आफूलाई खतना गराउँछ, ऊ सबै व्यवस्था पालन गर्न बाध्य हुन्छ। तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट तल झरेका छौ। तर परमेश्वरका आत्माबाट हामी उत्कट इच्छासहित विश्वासद्वारा धार्मिकताको आशाको प्रतीक्षा गर्दछौँ। किनकि ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई खतना होस् वा बेखतना, कुनै मूल्य छैन; तर प्रेमद्वारा व्यक्त गरिने विश्वासको मात्र मूल्य छ। तिमीहरूले राम्रो दौड दौडिरहेका थियौ। कसले सत्य पालना नगर्नू भनेर तिमीहरूलाई बाधा दियो? परमेश्वरबाट यो उक्साउने काम भएको होइन, जसले तिमीहरूलाई बोलाउनुहुन्छ। “थोरै खमिरले जम्मै पिठोको ढिकालाई खमिरी बनाइदिन्छ।” म प्रभुमा विश्वस्त छु, कि तिमीहरूले योबाहेक अर्को विचार अपनाउने छैनौ। तिमीहरूलाई अन्योलमा पार्ने जोसुकै होस्, त्यसले मूल्य चुकाउनुपर्नेछ। दाजुभाइ-दिदीबहिनीहरू हो, यदि मैले अझै पनि खतनाकै बारेमा प्रचार गरिरहेको छु भने किन म अझै सताइएको छु त? यसो हो भने क्रूसको बाधा हटाइएको छ। तिमीहरूलाई विचलित पार्नेहरूले, बरु तिनीहरूले आफ्नै अङ्ग काटे असल हुनेथियो।






