उपदेशक 11
11
धेरै उद्यममा लगानी गर्नु
1आफ्नो अन्न समुद्रपारि पठाऊ;
धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।
2सात, आठ भागमा लगानी गर;
किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ।
3यदि बादलहरू पानीले भरिएका छन् भने मात्र
तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्।
रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्,
त्यो ढलेकै ठाउँमा लडिरहन्छ।
4जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन;
अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन।
5जसरी बतासको बाटो तिमी जान्दैनौ,
अथवा आमाको गर्भमा बच्चा कसरी बन्दछ बुझ्दैनौ;
त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने
परमेश्वरका कामहरू बुझ्न सक्दैनौ।
6बिहानै तिमीले आफ्नो बिउ छर,
साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ;
किनकि कुनचाहिँ सप्रन्छ,
यो कि त्यो;
वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
युवाअवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना
7ज्योति मनमोहक हुन्छ,
सूर्यलाई देख्दा आँखाहरू प्रसन्न हुन्छन्।
8मानिस जतिसुकै वर्ष बाँचोस्,
त्यो ती सबैमा आनन्दित होस्।
तर अन्धकारका समयहरू पनि
धेरै हुन्छन् भनी स्मरण गरोस्।
जे कुरा हुन आउँछ, सबै अर्थहीन छ।
9हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ;
जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्।
आफ्ना हृदयले चाहेको
र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ!
तर याद राख: यी सबै कुराहरूका लागि
परमेश्वरले तिमीलाई लेखा लिनुहुनेछ।
10यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,
र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ;
किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
Currently Selected:
उपदेशक 11: NCV
Highlight
Share
Compare
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.