भजनसंग्रह 97
97
परमेश्वर सर्वोच्च शासक
1परमप्रभु राजा हुनुहुन्छ! हे पृथ्वी, आनन्द गर!
समुद्रका टापुहरू, तिमीहरू रमाओ!
2बादल र अन्धकारले उहाँलाई घेरेका छन्;
उहाँले धार्मिकता र न्यायसित राज्य गर्नुहुन्छ।
3उहाँको अघि आगो जाँदै छ
र चारैपट्टिका उहाँका शत्रुहरूलाई भस्म पार्दछ।
4उहाँको बिजुली चम्केकोले पृथ्वी उज्यालो हुँदछ,
त्यो पृथ्वीले देखेर थरथरी हुँदछ।
5परमप्रभुको अघि, सारा पृथ्वीका प्रभुको अघि
पहाडहरू मैनजस्तै पग्लेर जान्छन्।
6आकाशले उहाँको धार्मिकता प्रचार गर्दछ
र सबै जातिहरूले उहाँको महिमा देख्दछन्।
7मूर्ति पुज्ने हरेक व्यक्ति लाजमापर्नेछ,
परमप्रभुको अघि सबै देवताहरूले दण्डवत् गर्दछन्।
8हे परमप्रभु, तपाईंको निसाफले गर्दा सियोनका बासिन्दाहरू हर्षित छन्
र यहूदाका सहरहरूले रमाहट गर्दछन्।
9हे सर्वशक्तिमान् परमप्रभु, तपाईं सारा पृथ्वीका शासक हुनुहुन्छ,
तपाईं सबै देवी-देवताहरूभन्दा अति महान् हुनुहुन्छ।
10खराबीलाई घृणा गर्नेहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्छ,
उहाँले आफ्ना प्रजाका जीवनको रक्षा गर्नुहुन्छ,
उहाँले तिनीहरूलाई दुष्टहरूको शक्तिदेखि बचाउनुहुन्छ।
11धर्मीहरूमाथि ज्योति
र असल मानिसहरूमाथि आनन्द चम्कन्छन्।
12परमप्रभुले जे काम गर्नुभएको छ, त्यसका कारणले
तिमीहरू जो धर्मी छौ, आनन्द गर।
पवित्र परमेश्वरले जे गर्नुभएको छ, याद गर
र उहाँलाई धन्यवाद चढाओ।
Currently Selected:
भजनसंग्रह 97: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.