YouVersion Logo
Search Icon

भजनसंग्रह 94

94
परमेश्‍वर सबैका न्यायकर्ता
1हे परमप्रभु! तपाईं दण्‍ड दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ,
आफ्‍नो क्रोध प्रकट गर्नुहोस्!
2तपाईं सबै मानिसहरूका न्‍यायकर्ता हुनुहुन्‍छ,
उठ्‍नुहोस् र अहङ्कारीले जे फल पाउनु उचित छ, त्‍यही त्‍यसलाई दिनुहोस्।
3कहिलेसम्‍म दुष्‍टहरूले आनन्‍द गर्न पाउँछन्?
कहिलेसम्‍म, परमप्रभु?
4कहिलेसम्‍म अपराधीहरूले अहङ्कारी भएर
आफ्‍ना अपराधमा घमण्‍ड गर्न पाउनेछन्?
5हे परमप्रभु! तिनीहरूले तपाईंका प्रजालाई चुर-चुर पार्दछन्,
तपाईंका जनहरूलाई सताउँदछन्।
6तिनीहरूले विधवाहरू र टुहुराटुहुरीहरूलाई मार्दछन्
र हाम्रा देशमा बास गर्ने परदेशीहरूको हत्‍या गर्दछन्।
7तिनीहरू भन्‍छन्, “परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न।
इस्राएलका परमेश्‍वरले चाल पाउनुहुन्‍न।”
8मेरा मानिसहरू हो! कसरी तिमीहरू यस्‍ता मूर्ख र हुस्‍सू हुन सक्‍छौ?
तिमीहरूले कहिले सिक्‍ने?
9परमेश्‍वरले हाम्रा कान बनाउनुभयो, के उहाँले सुन्‍नुहुन्‍न र?
उहाँले हाम्रा आँखा बनाउनुभयो, के उहाँ आफैंले देख्‍नुहुन्‍न र?
10उहाँले जाति-जातिहरूलाई हप्‍काउनुहुन्‍छ, के उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुन्‍न र?
उहाँ सबै मानिसहरूका गुरु हुनुहुन्‍छ, के उहाँको आफ्‍नो ज्ञान छैन र?
11 # १ कोरिन्थी 3:20 परमप्रभुले तिनीहरूका सोचाइ जान्‍नुहुन्‍छ;
तिनीहरूका विचार कस्‍तो विवेकहीन छ, त्‍यो पनि जान्‍नुहुन्‍छ।
12परमप्रभु, जसलाई तपाईंले शिक्षा दिनुहुन्‍छ,
जसलाई तपाईं आफ्‍ना व्‍यवस्‍था सिकाउनुहुन्‍छ, त्‍यो कति खुसी हुन्‍छ!
13कष्‍टका दिनदेखि जबसम्‍म दुष्‍टहरू पर्ने खाडल तयार हुन्‍न,
तबसम्‍म तपाईंले उसलाई विश्राम दिनुहुन्‍छ।
14परमप्रभुले आफ्‍ना प्रजालाई त्‍याग्‍नुहुन्‍न,
जो-जो मानिसहरू उहाँका हुन्, उहाँले तिनीहरूलाई छोड्‍नुहुन्‍न।
15अड्डामा न्‍याय फेरि पाइनेछ
र सबै धर्मी मानिसहरूले त्‍यसको समर्थन गर्नेछन्।
16दुष्‍टहरूका विरुद्धमा को मसँग खडा थियो?
दुष्‍कर्मीहरूको विरुद्धमा कसले मेरो साथ दियो?
17परमप्रभुले मेरो मद्दत गर्नुनभएको हुँदो हो ता
म चाँडै सुनसान मृत्‍यु-लोकमा पुग्‍नेथिएँ।
18मैले भनें, “म ढल्‍दै छु,”
तर हे परमप्रभु! तपाईंको अटुट प्रेमले मलाई थामिराख्‍यो।
19जहिले-जहिले चिन्‍ता-फिक्री मलाई आइपर्दछ,
तपाईंले मलाई सान्‍त्‍वना दिनुहुन्‍छ र खुसी बनाउनुहुन्‍छ।
20भ्रष्‍ट न्‍यायकर्ताहरू, जसले अन्‍यायलाई न्‍याय बनाउँदछन्,
21जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन्
र निर्दोषीलाई प्राण दण्‍ड दिँदछन्,
तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन।
22तर परमप्रभुले मलाई बचाउनुहुन्‍छ,
मेरा परमेश्‍वरले मेरो रक्षा गर्नुहुन्‍छ।
23परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना दुष्‍टताको लागि दण्‍ड दिनुहुनेछ,
आफ्‍ना पापको लागि तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ।
परमप्रभु हाम्रा परमेश्‍वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 94