YouVersion Logo
Search Icon

भजनसंग्रह 71

71
बुढो मान्छेको प्रार्थना
1हे परमप्रभु! रक्षाको निम्‍ति म तपाईंको शरण परेको छु,
मेरो हार कहिल्‍यै हुन नदिनुहोस्!
2तपाईं धर्मी हुनुहुन्‍छ, यसकारण मेरो सहायता र रक्षा गर्नुहोस्,
मेरो बिन्‍ती सुन्‍नुहोस् र मलाई बचाउनुहोस्!
3मेरो रक्षाको लागि बलियो गढी र दरिलो आश्रय बन्‍नुहोस्,
तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ।
4मेरा परमेश्‍वर! दुष्‍ट मानिसहरूदेखि मेरो उद्धार गर्नुहोस्,
निष्‍ठुरी र दुष्‍टको शक्तिबाट मलाई रक्षा गर्नुहोस्।
5सार्वभौम परमप्रभु! म तपाईंमा आशा राख्‍दछु,
मैले युवा अवस्थामै तपाईंमा भरोसा राखेको छु।
6म जीवनभरि तपाईंमा भर परेको छु,
म जन्‍मेको दिनदेखि तपाईंले मेरो रक्षा गर्नुभएको छ,
म सधैँ तपाईंको प्रशंसा गर्नेछु।
7मेरो जीवन धेरै जनाको निम्‍ति नमुना बनेको छ
किनभने तपाईं मेरो प्रतापी रक्षक हुनुभएको छ।
8दिनभरि म तपाईंको प्रशंसा गर्दछु
र तपाईंको महिमाबारे उच्‍च सोरले भन्‍छु।
9अब बुढेस-कालमा मलाई इन्‍कार नगर्नुहोस्,
म कमजोर भएको छु, मलाई नत्‍याग्‍नुहोस्।
10मेरा शत्रुहरूले मलाई मार्न खोज्‍छन्,
तिनीहरूले मेरो विरुद्धमा कुरा गर्छन् र जाल रच्‍छन्।
11तिनीहरू भन्‍छन्, “परमेश्‍वरले त्‍यसलाई त्‍याग्‍नुभएको छ,
हामी त्‍यसलाई खेदेर पक्रौं, त्‍यसलाई बचाउने कोही छैन।”
12हे परमेश्‍वर! यति टाढा नहुनुहोस्!
हे मेरा परमेश्‍वर! मलाई मद्दत गर्न चाँडै आउनुहोस्।
13ममाथि आक्रमण गर्नेहरूको हार होस् र तिनीहरू मारिऊन्।
मलाई चोट लाउन खोज्‍नेहरू लाज र बदनाममा परून्।
14म सधैँ तपाईंमा आशा राख्‍नेछु,
म तपाईंको झन् धेरै प्रशंसा गर्नेछु।
15म तपाईंको भलाइबारे भन्‍नेछु,
दिनभरि म तपाईंको मुक्तिको विषयमा कुरा गर्नेछु,
जुन मुक्तिबारे मैले पूरा बुझ्‍न पनि सकेको छैनँ।
16हे सार्वभौम परमप्रभु, म तपाईंको सामर्थ्‍यको प्रशंसा गर्नेछु,
तपाईंको भलाइबारे मात्र अरूलाई उच्‍च स्‍वरले भन्‍नेछु।
17म युवा हुँदादेखि नै तपाईंले मलाई सिकाउनुभएको छ,
तपाईंका उदेकका कामबारे म अझै बयान गर्दछु।
18म अब बुढो भएको छु र मेरो केश फुलिसकेको छ,
मलाई नत्‍याग्‍नुहोस्, हे परमेश्‍वर!
पुस्‍ता-पुस्‍तालाई तपाईंको शक्ति र सामर्थ्‍यबारे उच्‍च स्‍वरले बताउँदा
तपाईं मेरो साथ हुनुहोस्।
19हे परमेश्‍वर, तपाईंको धार्मिकता आकाशसम्‍म पुग्‍दछ,
तपाईंले महान् कार्यहरू गर्नुभएको छ।
तपाईंजस्‍तो अरू कुनै छैन।
20तपाईंले मकहाँ दु:ख-कष्‍ट पठाउनुभयो,
तर मेरो बल फेरि नयाँ गरी फर्काइदिनुहुनेछ,
मलाई मृत्‍युदेखि जोगाइराख्‍नुहुनेछ।
21तपाईंले मलाई अझ महान् बनाउनुहुनेछ
र सान्‍त्‍वना फेरि दिनुहुनेछ।
22हे मेरा परमेश्‍वर, तपाईंको विश्‍वासनीयताको निम्‍ति म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु।
हे इस्राएलका परमपवित्र, सारङ्गी बजाएर म तपाईंको प्रशंसा गर्नेछु।
23तपाईंलाई प्रशंसा गर्दा म आनन्‍दले स्‍वर उचाल्‍नेछु,
मेरो सारा प्राणले म गाउनेछु
किनभने तपाईंले मलाई बचाउनुभएको छ।
24म दिनभरि तपाईंको धार्मिकताको बारेमा भन्‍नेछु
किनभने मलाई हानि गर्न खोज्‍नेहरू हारेका छन् र बदनाम भएका छन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in