YouVersion Logo
Search Icon

भजनसंग्रह 144

144
विजयको लागि परमेश्‍वरलाई राजाको धन्‍यवाद
1मेरो रक्षक, परमप्रभुको प्रशंसा गर!
उहाँले मलाई लडाइँको लागि तालिम दिनुहुन्‍छ
र युद्धको लागि मलाई तयार पार्नुहुन्‍छ।
2उहाँ मेरो रक्षक र बचाउनुहुने,
मेरो आश्रय र मुक्तिदाता हुनुहुन्‍छ
र आफ्‍नो रक्षाको लागि म उहाँमाथि भरोसा राख्‍दछु।
उहाँले जाति-जातिहरूलाई दमन गरेर मेरो अधीनमा गराउनुहुन्‍छ।
3 # अय्‍यूब 7:17,18; भजनसंग्रह 8:4 हे परमप्रभु, मानिस को हो
र तपाईंले त्यसको वास्ता गर्नुहुन्‍छ?
मरणशील मानिसलाई किन ध्‍यान दिनुहुन्‍छ?
4ऊ एक मुट्ठी सासझैँ छ,
उसको आयु हटिजाने छायाँजस्‍तो छ।
5हे परमप्रभु, आकाश फारेर तपाईं ओर्लनुहोस्,
पर्वतहरूलाई छुनुहोस्
र तिनीहरूले धुवाँ निकाल्‍नेछन्।
6बिजुली चम्‍काउनुहोस् र आफ्‍ना शत्रुहरूलाई छिन्‍न-भिन्‍न पार्नुहोस्;
काँड हानेर तिनीहरूलाई धपाउनुहोस्।
7माथिबाट ओर्लनुहोस्,
गहिरा पानीबाट तानेर मलाई निकाल्‍नुहोस् र मलाई बचाउनुहोस्;
विदेशीहरूको शक्तिबाट मलाई छुटकारा दिनुहोस्।
8ती विदेशीहरूले कहिल्‍यै साँचो कुरा गर्दैनन्
र किरिया खाएर पनि झूटा बोल्‍छन्।
9हे परमेश्‍वर, म तपाईंलाई एउटा नयाँ भजन गाएर सुनाउनेछु,
म वीणा बजाएर तपाईंलाई भजन सुनाउनेछु।
10राजाहरूलाई तपाईंले विजय दिनुहुन्‍छ
र आफ्‍नो दास दाऊदलाई बचाउनुहुन्‍छ!
11मेरा निष्‍ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्,
कहिल्‍यै सत्‍य नबोल्‍ने र किरिया खाएर पनि झूट बोल्‍ने
विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्।
12हाम्रा छोराहरू आफ्‍ना जवानीपनमा बलियो भई
उम्रेका बोटहरूजस्‍ता होऊन्!
राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्‍बाहरूजस्‍ता
हाम्रा छोरीहरू होऊन्!
13हाम्रा भकारीहरू हरेक प्रकारका अन्‍नले भरिऊन्।
हाम्रा भेडाहरूले हजारौं-हजार गरेर बच्‍चा ब्याऊन्।
14गाई-वस्‍तुहरूको गर्भ नतुहोस् र धेरै ब्याऊन्।
हाम्रा सडकहरूमा दु:ख-कष्‍टका हाहाकार नसुनिओस्!
15जुन देशमा यी कुराहरू सत्‍य भएका छन्, त्‍यो देश खुसी देश हो।
जसका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू खुसी होऊन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in