भजनसंग्रह 109
109
दु:खमा परेको मानिसको गुनासो
1हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु;
चुप लागि नबस्नुहोस्!
2झूटा र दुष्ट मानिसहरू ममाथि आइलागेका छन्,
तिनीहरूले मेरो विरुद्धमा झूट कुरा गर्छन्।
3तिनीहरूले मेरो विरुद्धमा दुष्ट कुराहरू भन्छन्
र बिनाकारण ममाथि आइलाग्छन्।
4मैले तिनीहरूलाई प्रेम गर्छु र तिनीहरूका लागि प्रार्थना गरेको छु,
तापनि तिनीहरूले मेरो विरोध गर्छन्।
5मैले गरेको भलाइको सट्टामा तिनीहरूले मलाई खराबी गर्छन्
र प्रेमको सट्टामा घृणा गर्छन्।
6मेरो शत्रुमाथि मुद्दा चलाउन कुनै दुष्ट न्यायकर्ता चुन्नुहोस्
र त्यसको कुनै आफ्नै शत्रुले त्यसलाई दोष लगाओस्।
7मुद्दा चलोस् र त्यो दोषी ठहरिओस्,
त्यसको बिन्ती पनि अपराध नै ठानियोस्!
8 #
प्रेरित 1:20
त्यसको जीवनको अन्त चाँडै होस्,
त्यसको काम अर्को मानिसले खोसोस्!
9त्यसका सन्तानहरू टुहुरा-टुहुरी होऊन्
र त्यसकी स्वास्नी विधवा होस्!
10त्यसका सन्तानहरू घरबिनाका भिखारी बनून्
र आफू बसेको भत्केका घरबाट पनि तिनीहरू धपाइऊन्!
11त्यसलाई ऋण दिनेहरूले त्यसका सम्पत्ति लैजाऊन्,
त्यसले गरेका कामका फल परदेशीहरूले लैजाऊन्।
12त्यसमाथि कसैले दया नगरोस्,
त्यसले छोडिराखेका टुहुरा-टुहुरीको कसैले वास्ता नगरोस्।
13त्यसका सबै सन्तानहरू मरेर जाऊन्
र आउँदो पुस्ताले त्यसको नाम भुलिसकेको होस्।
14परमप्रभुले त्यसका पुर्खाका दुष्टता याद गरून्
र त्यसकी आमाका पापहरू कहिल्यै क्षमा नगरून्।
15परमप्रभुले तिनीहरूका पाप सधैँ याद राखून्,
तर तिनीहरूको सम्झना पृथ्वीबाट पूरै मेटिजाओस्!
16त्यस मानिसले कहिल्यै दया गर्ने विचारसम्म गरेन,
त्यसले गरीब, अभावमा परेका र असहायहरूलाई सताएर मार्यो।
17त्यसले सराप दिन मन पराउँदथ्यो, त्यो आफैंले सराप पाओस्,
त्यसले आशिष् दिने काम घृणा गर्दथ्यो,
त्यसलाई कसैले आशिष् नदेओस्!
18लुगा लाएजस्तो सजिलैसँग त्यसले सराप दिन्थ्यो,
त्यसका सरापहरू त्यसकै शरीरमा पानीजस्तो
र त्यसका हड्डीहरूमा तेलजस्तो भिजेर जाऊन्!
19कपडाले झैँ ती सरापहरूले त्यसलाई ढाकून्
र पटुकाझैँ त्यसका कम्मरमा कसिएर बाँधिऊन्!
20परमप्रभु! मेरा शत्रुहरूलाई त्यसरी दण्ड दिनुहोस्,
मेरा विरुद्धमा त्यस्ता दुष्ट कुरा गर्नेहरूलाई त्यस्तै होस्!
21तर मेरा सार्वभौम परमेश्वर! आफ्नो प्रतिज्ञाअनुसार मेरो मद्दत गर्नुहोस्
र तपाईंको प्रेम भलो भएको कारण मलाई बचाउनुहोस्।
22म दरिद्र छु, मलाई अभाव छ,
मेरो हृदय भित्रसम्म म घाइते भएको छु।
23साँझको छायाजस्तै म बिलिन हुन आँटेको छु,
एउटा किराजस्तै म हावामा उडाइन्छु।
24खानाको अभावले मेरा घुँडाहरू दुर्बल भएका छन्,
म हाड र छालामात्र भएको छु।
25 #
मत्ती 27:39; मर्कूस 15:29 मलाई देखेर मानिसहरू हाँस्छन्,
खिसी गरेर तिनीहरूले आफ्ना टाउको हल्लाउँछन्।
26परमप्रभु, मेरा परमेश्वर, मलाई मद्दत गर्नुहोस्,
तपाईंको अनन्त प्रेमको कारण मलाई बचाउनुहोस्!
27मलाई बचाउनुहुने तपाईं हुनुहुन्छ भनी
मेरा शत्रुहरूलाई जान्न दिनुहोस्।
28तिनीहरूले मलाई सराप्लान् तर तपाईंले मलाई आशीर्वाद दिनुहुनेछ।
मलाई सताउनेहरूको हार होस्
र म तपाईंको दास रमाउन पाऊँ।
29मेरा शत्रुहरूलाई बदनामले छोपोस्,
तिनीहरूले आफ्नो शर्मको खास्टो ओढ्नुपरोस्।
30म उच्च स्वरले परमप्रभुलाई धन्यवाद चढाउनेछु,
मानिसहरूका सभामा म उहाँको प्रशंसा गर्नेछु
31किनभने उहाँले गरीबको रक्षा गर्नुहुन्छ
र त्यसको प्राण लिन चाहनेहरूदेखि त्यसलाई बचाउनुहुन्छ।
Currently Selected:
भजनसंग्रह 109: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.