YouVersion Logo
Search Icon

भजनसंग्रह 103

103
परमेश्‍वरको प्रेम
1हे मेरो आत्‍मा, परमप्रभुको प्रशंसा गर्‌!
हे मेरो प्राण, उहाँको पवित्र नामको प्रशंसा गर्‌!
2हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌
र उहाँ कस्‍तो दयालु हुनुहुन्‍छ, नबिर्सी।
3उहाँले मेरा सबै पाप क्षमा गर्नुहुन्‍छ
र उहाँले मेरा सबै रोगहरू निको पार्नुहुन्‍छ।
4उहाँले मलाई मृत्‍युदेखि बचाउनुहुन्‍छ
र प्रेम र दयामायाले आशिष् दिनुहुन्‍छ।
5उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्‍छ
र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ।
6परमप्रभुले सताइएकाहरूका पक्षमा निसाफ दिनुहुन्‍छ
र तिनीहरूलाई तिनीहरूको हक दिनुहुन्‍छ।
7उहाँले आफ्‍नो योजना मोशालाई देखाउनुभयो
र इस्राएलका प्रजालाई आफ्‍ना सामर्थी कामहरू देखाउनुभयो।
8 # याकूब 5:11 परमप्रभु दयालु र प्रेमिलो,
रिस गर्नमा ढीला र अनन्‍त प्रेमले पूर्ण हुनुहुन्‍छ।
9उहाँले हकारिरहनुहुन्‍न,
सधैँ रिसाउनुहुन्‍न।
10हामीले पाउनुपर्ने उचित दण्‍ड उहाँले हामीलाई दिनुहुन्‍न,
हाम्रा पाप र अपराधअनुसार उहाँले हामीलाई दण्‍ड दिनुहुन्‍न।
11स्‍वर्ग पृथ्‍वीदेखि जति अग्‍लो छ,
आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्‍यत्ति नै महान् छ।
12पूर्व दिशा पश्‍चिमदेखि जति टाढा छ,
त्‍यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्‍छ।
13एउटा बुबा आफ्‍ना छोरा-छोरीहरूसँग जति दयालु हुन्‍छ,
आफ्‍ना आदर गर्नेहरूसँग परमप्रभु त्‍यति नै दयालु हुनुहुन्‍छ।
14हामी केले बनिएका छौं, उहाँले जान्‍नुहुन्‍छ,
हामी माटो मात्र हौं भनी उहाँलाई याद छ।
15हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्‍तै छ,
जङ्गली फूलझैँ हामी फुल्‍दछौं र बढ्छौं;
16तब हावा त्‍योमाथि बहन्‍छ र त्‍यो उडि जाँदछ
र त्‍यसलाई फेरि कसैले देख्‍दैनन्।
17-18तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ
उहाँको प्रेम सदाकालको निम्‍ति रहनेछ।
उहाँको करार साँचो प्रकारले मान्‍नेहरूमाथि र
उहाँका आज्ञा विश्‍वासयोग्‍यसाथ पालन गर्नेहरूमाथि
तिनीहरूका पुस्‍ता-पुस्‍तासम्‍म उहाँको भलाइ रहिरहनेछ।
19परमप्रभुले स्‍वर्गमा आफ्‍नो सिंहासन राख्‍नुभो,
सबैमाथि उहाँले राज्‍य गर्नुहुन्‍छ।
20तिमी उहाँका आज्ञा मान्‍ने र उहाँका वचन सुन्‍ने,
बलिया र सामर्थी स्‍वर्गदूतहरूले परमप्रभुको प्रशंसा गर।
21स्‍वर्गका सबै शक्तिहरू, जसले उहाँको सेवा
र इच्‍छा पालन गर्दछन्,
तिमीहरूले परमप्रभुको प्रशंसा गर!
22उहाँका राज्‍यका सबै ठाउँहरूमा भएका सबै प्राणीहरूले
परमप्रभुको प्रशंसा गर।
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in