YouVersion Logo
Search Icon

हितोपदेश 16

16
1हामीले आफ्‍ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्‍वरको हो।
2आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्‍य जाँच्‍नुहुन्‍छ।
3आफूले गर्ने काम परमप्रभुलाई सुम्‍पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्।
4परमप्रभुले आफ्‍नो उद्देश्‍यअनुसार सबै कुरा प्रयोग गर्नुहुन्‍छ, दुष्‍टतालाई पनि आफ्‍नो उद्देश्‍यअनुसार नाश गर्नुहुन्‍छ।
5अहङ्कारीलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दण्‍डबाट उम्‍कन दिनुहुन्‍न।
6विश्‍वासयोग्‍य र भक्त बन र परमेश्‍वरले तिम्रा पाप क्षमा गर्नुहुन्‍छ। परमप्रभुको आज्ञापालन गर र तिम्रो केही खराबी हुँदैन।
7परमप्रभुलाई प्रसन्‍न तुल्‍यायौ भने तिम्रा शत्रुहरू तिम्रा मित्रहरू बन्‍नेछन्।
8इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो।
9मानिसले यसो गरुँला, उसो गरुँला, भन्‍छ तर परमप्रभुले नै उसलाई काममा डोर्‍याउनुहुन्‍छ।
10राजा दिव्‍य अख्‍तियारले बोल्‍छन्, उनको न्‍याय सधैँ ठीक हुन्‍छ।
11परमप्रभुले ठीक-ठीक ढक र तराजुहरू चलाएको र उचित तरिकाले व्‍यापार गरेको चाहनुहुन्‍छ।
12राजाहरूले दुष्‍ट्याइँलाई सहन सक्‍दैनन् किनभने उचित न्‍यायले सरकार स्‍थिर रहँदछ।
13राजाले साँचो कुरा सुन्‍न चाहन्‍छन् र सत्‍य बोल्‍नेलाई उनले रुचाउँछन्।
14बुद्धिमान् मानिसले राजालाई खुसी राख्‍ने चेष्‍टा गर्छ। राजा रिसाउनाले कसैको ज्‍यान जान सक्‍छ।
15राजाको कृपा-दृष्‍टि बसन्‍त ऋतुमा झरी ल्‍याउने बादलजस्‍तै हो; त्‍यसले जीवन दिँदछ।
16सुन र चाँदी कमाउनुभन्दा ज्ञान र बुद्धि प्राप्‍त गर्नु धेरै असल हो।
17सोझा मानिसहरू कुबाटोतिर जाँदैनन्, कतातिर जाँदछौ, होशियार गर्‍यौ भने आफ्‍नो प्राण जोगाउँछौ।
18अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ।
19अहङ्कारीहरूसित मिलेर लुटका माल बाँडिलिनुभन्दा बरु नम्र भई दरिद्र रहनु उत्तम हो।
20आफूले पाएको शिक्षामा ध्‍यान देऊ र तिमी सफल हुनेछौ। परमप्रभुमा भरोसा राख र तिमी प्रसन्‍न हुनेछौ।
21ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्‍छ, उति उसले मानिसको मन जित्‍दछ।
22बुद्धिमान्‌को बुद्धि जीवनको मूल हो तर मूर्खलाई ज्ञान दिनु समय बरबाद गर्नु हो।
23बुद्धिमान् मानिसले सोचेर मात्र बोल्‍दछ र उसको बोलीले सुन्‍नेको मन जित्‍दछ।
24दयालु बोली महजस्‍तो, मनलाई खुसी पार्ने र स्‍वास्‍थ्‍य दिने हुन्‍छ।
25 # हितोपदेश 14:12 कुनै बाटो तिमीलाई ठीकै छ भन्‍ने लाग्‍ला तर अन्‍तमा त्‍यसले मृत्‍युमा पुर्‍याउन सक्‍छ।
26परिश्रमीको पेटले त्‍यसलाई झन् परिश्रमी बनाउँदछ किनभने त्‍यसले आफ्‍नो पेटको भोक मेट्‍न चाहन्‍छ।
27दुष्‍टहरूले अर्काको खति गर्ने उपाय खोजिहिँड्छन्। तिनीहरूका बोलीमा पनि दुष्‍ट्याइँको आगो हुन्‍छ।
28दुष्‍टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्‍याउँछन्।
29हिँसा गर्ने मानिसले आफ्‍नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ।
30कसैले तिमीलाई हेरेर ङिच्‍च हाँस्‍यो, आँखा झिम्‍क्‍यायो भने होशियार होऊ, त्‍यसका मनमा केही दुष्‍ट विचार उठेको हुन्‍छ।
31धार्मिकताको फल लामो आयु हो, फुलेको केश शोभाको मुकुट हो।
32सहर जित्‍नुभन्दा बरु आफूलाई वशमा राख्‍नु उत्तम हो।
33मानिसले चिट्ठा हालेर परमेश्‍वरको इच्‍छा बुझ्‍न त खोज्‍छ तर उत्तर दिने त परमेश्‍वर आफैं हुनुहुन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for हितोपदेश 16