मत्ती 17
17
येशूको रूप फेरिएको
(मर्कूस ९:२-१३; लूका ९:२८-३६)
1छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्नालाई मात्रै साथमा लिएर अग्लो पहाडतिर जानुभयो। 2माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्तै चम्किन लाग्यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो 3अनि एक्कासि मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। 4यो देखेर पत्रुसले येशूलाई भने, “प्रभु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। तपाईंको इच्छा भए म यहाँ तीन वटा छाप्रो बनाउँछु, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!”
5 #
उत्पत्ति 22:2; भजनसंग्रह 2:7; यशैया 42:1; मत्ती 3:17; 12:18; मर्कूस 1:11; लूका 3:22;
व्यवस्था 18:15
#
२ पत्रुस 1:17,18 पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्यसको छायाँले उहाँहरूलाई ढाक्यो अनि बादलभित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।” 6यो आवाज सुनेर चेलाहरू डराएर घोप्टो परे। 7तर येशू आएर तिनीहरूलाई छुँदै भन्नुभयो, “उठ, नडराऊ!” 8अनि तिनीहरूले उठेर हेर्दा त त्यहाँ येशू मात्रै हुनुहुन्थ्यो।
9पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्नू।”
10 #
मलाकी 4:5
चेलाहरूले येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्छन्?” 11येशूले जवाफ दिनुभयो, “हो, साँच्चै सबै कुरा सच्याउन एलिया आउनु नै पर्छ। 12#मत्ती 11:14हेर, म तिमीहरूलाई भन्छु, एलिया त आइसकेका छन्। तर मानिसहरूले उनलाई चिनेनन् र तिनीहरूले उनलाई जे मन लाग्यो, त्यही गरे अनि म मानव पुत्रलाई पनि तिनीहरूले त्यस्तै गरी मार्नेछन्।” 13तब येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गर्नुभएको रहेछ भनेर चेलाहरूले बुझे।
येशूले भूत लागेको ठिटोलाई निको पार्नुभएको
(मर्कूस ९:१४-२९; लूका ९:३७-४३)
14येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्यो, 15“हजुर, मेरो छोरोलाई दया गर्नुहोस्! छारेरोग लागेकोले उसले असाध्यै दु:ख पाइरहेको छ। ऊ घरीघरी मुर्छा पर्छ र आगो वा पानीमा परिरहन्छ। 16मैले उसलाई हजुरका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त निको पार्न सकेनन्।” 17येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिन्जेलसम्म सहिरहने? खै त्यसलाई यता ल्याओ।” 18अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो।
19पछि चेलाहरूले येशूलाई एकान्तमा सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?” 20#मत्ती 21:21; मर्कूस 11:23; १ कोरिन्थी 13:2येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ। 21[तर त्यस किसिमको भूत त प्रार्थनाद्वारा र उपवास बसेर मात्र निकाल्न सकिन्छ।”]
येशूले फेरि आफ्नो मृत्युको चर्चा गर्नुभएको
(मर्कूस ९:३०-३२; लूका ९:४३-४५)
22चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्पिइनेछ। 23तिनीहरूले उसलाई मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यो सुनेर चेलाहरू खिन्न भए।
येशूले मन्दिरको कर बुझाउनुभएको
24 #
प्रस्थान 30:13; 38:26 येशू र उहाँका चेलाहरू कफर्नहुममा आइपुगेपछि मन्दिरको कर उठाउनेहरूले आएर पत्रुसलाई सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर बुझाउनुहुन्छ?” 25“बुझाउनुहुन्छ, किन नबुझाउने?” पत्रुसले जवाफ दिए।
पत्रुस घरभित्र पसेपछि येशूले नै कुरा निकाल्नुभयो, “ए सिमोन, तिम्रो विचार के छ? यस संसारका राजाहरूले कसबाट कर उठाउँछन्? आफ्नै छोराहरूबाट उठाउँछन् कि अरूहरूबाट?” 26“अरूहरूबाटै उठाउँछन्,” पत्रुसले जवाफ दिए। येशूले भन्नुभयो, “त्यसो भए निज छोराहरूले कर तिर्नुपर्दैन। 27तैपनि हामी यी मानिसहरूलाई ठेस नदिऔँ। तिमी जाऊ र तालमा जाल हान। सबभन्दा पहिले जालमा परेको माछो निकालेर त्यसको मुख खोल। त्यसको मुखमा तिमीले एक तोला चाँदीको पैसा भेट्टाउनेछौ। त्योचाहिँ मन्दिरको कर उठाउनेहरूकहाँ लगेर हामी दुईको कर बुझाऊ।”
Currently Selected:
मत्ती 17: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.