यर्मिया पुस्तक परिचय
पुस्तक परिचय
ख्रीष्ट जन्मनुभन्दा प्राय: छ सय वर्षअघि यर्मिया अगमवक्ताले आफ्नो काम सुरु गरेका थिए। आफ्नो लामो सेवाकालमा परमेश्वरका प्रजालाई उनीहरूका मूर्तिपूजा र पापका कारणले उनीहरूमाथि आइलाग्ने महा-विपत्तिबारे तिनले चेतावनी दिएका थिए। आफ्नो यो ईश्वरवाणी पूरा भएको मर्नुभन्दा अघि तिनले देख्न पाए। यरूशलेम बाबेलका राजा नबूकदनेसरको अधीन भएको, सहर र मन्दिर ध्वस्त भएको र यहूदाका राजा र अनेक प्रजा कैद गरी बेबिलोनमा लगिएका तिनले देखे। अन्तमा ती मानिसहरू र तिनका सन्तान कैदबाट मुक्त भई फर्किआउनेछन् र त्यो जाति फेरि बसालिनेछ भनी अघिबाट तिनले बताए।
यर्मियाको पुस्तकलाई निम्न भागमा बाँड्न सकिन्छ– (१) यर्मियाको बोलावट। (२) योशियाह, यहोयाकीम, यहोयाकीन र सिदकियाह राजाका पालामा परमेश्वरले यहूदा जाति र त्यसका राजाहरूलाई दिनुभएको सन्देश। (३) यर्मियाका सचिव बारूकद्वारा लिखित संस्मरण र यर्मियाको जीवनका अगमवाणीहरू र महत्त्वपूर्ण घटनाहरू। (४) विभिन्न विदेशी जातिहरूबारे परमप्रभुको सन्देश। (५) यरूशलेमको हार र बाबेलको कैदमा लगिने घटनाहरूबारे इतिहासका थप कुराहरू।
यर्मिया झट्टै प्रभावित हुने खालका मानिस थिए। तिनले आफ्ना जातिका मानिसहरूलाई खुबै माया गर्थे र उनीहरूमाथि दण्डको आज्ञा सुनाउने काम गर्न तिनले ठ्याम्मै मन पराउँदैनथे। अगमवक्ताको हैसियतमा आफूमाथि आइपरेको कष्टबारे तिनले मनमा गहिरा भावना लिई बताउँछन्। परमेश्वरका वाणी तिनको मनमा आगोझैँ बल्दथे, तिनले ती थाम्न सक्दैनथे।
यस पुस्तकका कतिपय महान् वाक्यहरूले यर्मियाको समयको कष्टको दिनपछिको अर्को एउटा नयाँ दिनलाई बताउँदछन्। त्यो दिन परमेश्वरले आफ्ना प्रजासँग नयाँ वाचा बाँध्नुहुनेछ। त्यो वाचाचाहिँ कुनै पनि शिक्षकबिना तिनीहरूले पालन गर्नेछन् किनभने त्यो वाचा परमेश्वरले तिनीहरूको हृदयमा लेख्नुहुनेछ (३१:३१-३४)।
संक्षिप्त विषय-सूची
यर्मियाको बोलावट १:१-१९
योशियाह, यहोयाकीम, यहोयाकीन र सिदकियाह राजाका
पालामा गरिएका अगमवाणीहरू २:१—२५:३८
यर्मियाका जीवनका घटनाहरू २६:१—४५:५
जाति-जातिका विरुद्धमा गरिएका अगमवाणीहरू ४६:१—५१:६४
यरूशलेमको पतन ५२:१-३४
Currently Selected:
यर्मिया पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.