YouVersion Logo
Search Icon

यशैया 54

54
इस्राएलप्रति परमप्रभुको प्रेम
1 # गलाती 4:27 हे यरूशलेम, तँ बाँझी स्‍त्रीजस्‍तो छस्।
तर अब तँ आनन्‍दले गाउन
र कराउन सक्‍छस्।
लोग्‍नेले नछोडेकी स्‍त्रीको भन्दा ज्‍यादा अब तेरा सन्‍तान हुनेछन्।
2तँ बास गर्ने पाल बढा, तेरा पाल सङ्कोच नमानी फैला,
त्‍यसका डोरीहरू लामा-लामा गर्‌ र किलाहरू बलिया बना।
3चारैपट्टि तैँले आफ्‍नो सिमाना फैलाउँनेछस्,
अहिले अरू जातिका हातमा परेका जमिन
तेरा मानिसहरूले लिनेछन्।
अहिले उजाड भएका सहरहरू मानिसहरूले भरिनेछन्।
4नडरा, फेरि तेरो अपमान हुनेछैन,
तँ होचो पारिनेछैनस्।
तेरो जवानीपनको लाज भुल्‍नेछस्, विधवा भएपछिको घोर एक्‍लोपना बिर्सनेछस्।
5तेरा सृष्‍टिकर्ता तेरा लोग्‍नेझैँ हुनुहुनेछ,
उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।
इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्‍छ,
उहाँ सारा संसारका परमेश्‍वर कहलाइनुहुन्‍छ।
6ए इस्राएल, लोग्‍नेले त्‍यागेकी एउटी तरुणी स्‍वास्‍नीजस्‍तो
तँ अत्‍यन्‍त दु:खी भएकी छे।
तर परमप्रभुले तँलाई फेरि बोलाउँदै हुनुहुन्‍छ।
7“केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ,
ठूलो प्रेमको साथ तँलाई फिर्ता लिनेछु।
8“एकै क्षणको निम्‍ति मात्र मैले आफ्‍नो रिसमा मुख लुकाएँ,
तर सदाकालको निम्‍ति तँलाई आफ्‍नो प्रेम देखाउनेछु।”
तँलाई बचाउनुहुने परमप्रभु त्‍यसो भन्‍नुहुन्‍छ।
9 # उत्‍पत्ति 9:8-17 “नोआका समयमा फेरि पृथ्‍वीमा जलप्रलय कहिल्‍यै पठाउनेछैनँ भनी मैले प्रतिज्ञा गरेको थिएँ,
अब म प्रतिज्ञा गर्दछु कि म तँसित फेरि रिसाउनेछैनँ,
म तँलाई हप्‍काउने र दण्‍ड दिनेछैनँ।
10डाँडा-पर्वतहरू टुक्रा-टुक्रा हुन सक्‍लान्, तर तिमीहरूको निम्‍ति मेरो प्रेम कहिल्‍यै अन्‍त हुनेछैन,
मेल-मिलापको यो मेरा करार म सदाकाल राखिछोड्‍नेछु।”
तँलाई दया गर्नुहुने परमप्रभुले त्‍यसो भन्‍नुहुन्‍छ।
यरूशलेमको भविष्‍य
11 # प्रकाश 21:18-21 परमप्रभु भन्‍नुहुन्‍छ,
“ए यरूशलेम, दु:ख भोगिरहेको, असहाय र सान्‍त्‍वना दिने कोही नभएको सहर,
म बहुमूल्‍य पत्‍थरहरूले फेरि तेरो जग बसाल्‍नेछु।
12म तेरा बुर्जाहरू लालमणिले बनाउनेछु,
तेरा मूल-ढोकाहरू आगोझैँ बल्‍ने बहुमूल्‍य पत्‍थरहरूले
र तेरा चारैपट्टिका पर्खाल रत्‍नहरूले बनाउनेछु।
13 # यूहन्‍ना 6:45 “तेरा सबै मानिसहरूलाई म आफैं शिक्षा दिनेछु
र तिनीहरूलाई सुख-शान्‍ति दिनेछु।
14न्‍याय र धर्मले तँ बलियो बन्‍नेछस्,
अत्‍याचार र डरबाट तँ निडर रहनेछस्।
15कोही तँमाथि आइलाग्‍यो भने त्‍यो मैले गराएको हुनेछैनँ,
तेरो विरुद्धमा लडाइँ गर्ने तँसित हार्नेछ।
16“आगोको भुङ्ग्रो बनाएर हतियार तयार गर्ने लोहारलाई
मैले सृष्‍टि गरेको हुँ
र ती हतियार चलाउने सिपाहीलाई पनि मैले सृष्‍टि गरेको हुँ।
17तर कुनै हतियारले तँलाई चोट लगाउन सक्‍नेछैन।
तँलाई दोष लाउनेहरूको मुखमा बुजो लाग्‍नेछ।
म मेरा सेवकहरूको बचाउ गर्नेछु र तिनीहरूलाई विजय दिनेछु।”
परमप्रभु बोल्‍नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in