YouVersion Logo
Search Icon

यशैया 31

31
परमेश्‍वरले यरूशलेमको रक्षा गर्नुहुनेछ
1मद्दतको लागि मिश्रदेशमा जानेहरू नाश हुनेछन्! तिनीहरू मिश्रका विशाल सैनिक शक्तिमा भर पर्दछन्: घोडा, रथ र सिपाहीहरूमा भर पर्दछन्। तर तिनीहरू परमप्रभु, इस्राएलका पवित्र परमेश्‍वरमा भरोसा राख्‍दैनन् न त उहाँको सहायता खोज्‍दछन्। 2उहाँ पनि बुद्धिमान् हुनुहुन्‍छ। उहाँले विनाश पठाउनुहुन्‍छ। दुष्‍ट मानिस र तिनीहरूका रक्षा गर्नेहरूलाई सजायँ दिनु भन्‍ने जुन हप्‍काई उहाँले दिनुभएको थियो, त्‍यो पूरा गराउँदै हुनुहुन्‍छ। 3मिश्रीहरू परमेश्‍वर होइनन्, तिनीहरू मानिस मात्र हुन्। तिनीहरूका घोडा अलौकिक होइनन्। परमप्रभुले आफ्‍नो काम गर्नुहुँदा बलियो जाति धुलोपिठो पारिनेछ र तिनीहरूले सहायता गरेको कमजोर जातिचाहिँ पछारिनेछ। ती दुवै एकसाथ नष्‍ट हुनेछन्।
4परमप्रभुले मलाई भन्‍नुभयो, “गोठालाहरूले जति नै चिच्‍च्‍याए र कराए पनि तिनीहरूले सिंहलाई त्‍यसले मारेको शिकारबाट तर्साई भगाउन सक्‍दैनन्। त्‍यस्‍तै प्रकारले म सर्वशक्तिमान् परमप्रभुलाई सियोन पर्वतको रक्षा गर्नबाट रोक्‍न सक्‍ने कुनै कुरा छैन। 5जसरी चरा आफ्‍ना बचेराको रक्षा गर्न गुँडमाथि उडिरहन्‍छ, त्‍यसरी नै म सर्वशक्तिमान् परमप्रभुले यरूशलेमलाई रक्षा गर्नेछु र त्‍यसको बचाउ गर्नेछु।”
6परमप्रभुले भन्‍नुभयो, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूले मेरो विरुद्ध पाप गरेका छौ र मेरो विरोध गरेका छौ। तर अब मतिर फर्क! 7यस्‍तो समय आउँदै छ कि तिमीहरू सबैले आफ्‍ना पापपूर्ण हातले बनाएका सुन र चाँदीका मूर्तिहरू फ्‍याँक्‍नेछौ! 8अश्‍शूरीहरू लडाइँमा नाश पारिनेछन् तर मानिसको शक्तिद्वारा होइन। अश्‍शूरीहरू लडाइँको मैदानबाट भाग्‍नेछन् र तिनीहरूका ठिटाहरू कमारा बनाइनेछन्। 9तिनीहरूका राजा डरले भाग्‍नेछन् र अफिसरहरू यति साह्रो तर्सनेछन् कि तिनीहरूले आफ्‍ना लडाइँका झन्‍डा छोड्‌नेछन्।” यरूशलेममा पुजिने परमप्रभु, जसको आगोले त्‍यहाँ बलि भस्‍म पार्न दन्‍किरहन्‍छ, उहाँ बोल्‍नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in