यशैया 30
30
मिश्रसित बेकामको सन्धि
1परमप्रभुले भन्नुभएको छ, “यहूदामाथि राज्य गर्नेहरू नाश हुनेछन् किनभने तिनीहरू मेरो विद्रोह गर्छन्। तिनीहरू मैले नबनाएको युक्तिपछि लाग्छन् र मेरो इच्छाविरुद्ध सन्धि सही गर्छन् र पापमाथि पाप थुपार्छन्। 2मेरो सल्लाहबिना तिनीहरू सहायताको निम्ति मिश्रतिर दगुर्छन्। तिनीहरू मिश्रले तिनीहरूको रक्षा गरेको चाहन्छन् र मिश्रका राजामाथि भरोसा राख्दछन्। 3तर मिश्रका राजा तिनीहरूको मद्दत गर्न शक्तिहीन हुनेछ र मिश्रले दिएको सुरक्षा विनाशमा टुङ्गिनेछ। 4तिनीहरूका राजदूत मिश्रका सोअन र हानेस सहरहरूमा आइपुगेका भए पनि 5यहूदाका मानिसहरूलाई एउटा भर पर्न नसकिने र मद्दतको लागि आशा राखिएको समयमा मद्दत पुर्याउन नसक्ने जातिमाथि आफूले भरोसा राखेकोमा पछुताउनुपर्नेछ।”
6दक्षिणको मरुभूमिमा भएका जन्तुहरूबारे परमेश्वरको सन्देश यस्तो छ: “सिंहका गुफा, विषालु सर्प र उड्ने अजिङ्गरहरू भएका डरलाग्दा देश भएर राजदूतहरूले यात्रा गर्नेछन्। तिनीहरू आफूलाई मद्दत गर्न नसक्ने जातिलाई पुर्याउन आफ्ना गधा र ऊँटहरूमा बहुमूल्य सौगातका भारी कस्छन्। 7मिश्रले दिने मद्दत व्यर्थ छ। यसैले मेले मिश्रलाई ‘हानि नगर्ने अजिङ्गर’ भनी बोलाउने नाम दिएको छु।”
अनाज्ञाकारी मानिसहरू
8मानिसहरू कस्ता छन् भनी त्यसको सधैँभरि रहने प्रमाण बनियोस् भनेर परमेश्वरले मलाई पुस्तकमा लेख्ने आदेश दिनुभयो। 9तिनीहरू सधैँ परमेश्वरका विद्रोही, झूट बोलिरहने र परमप्रभुका शिक्षा नसुन्ने मानिसहरू भएका छन्। 10तिनीहरू अगमवक्ताहरूलाई चुप लाग्न भन्दछन्। तिनीहरू भन्दछन्, “हामीलाई ठीक कुरा के हो, सो भन्नुपर्दैन। हामी जे सुन्न चाहन्छौं, झूटै भए पनि त्यो भन। 11हाम्रो बाटोबाट टाढा होऊ र बाटो नथुन। इस्राएलका पवित्र परमेश्वरबारे हामी केही सुन्न चाहँदैनौं।”
12तर इस्राएलका पवित्र परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरू मेरो कुराको वास्ता गर्दैनौ र हिँसा र छल-कपटमा भरोसा गर्छौ। 13तिमीहरू दोषी छौ। तिमीहरू माथिदेखि तलैसम्म चिरा परेको अग्लो पर्खालजस्ता छौ, तिमीहरू अचानक ढल्नेछौ। 14तिमीहरू माटाका भाडाझैँ टुक्रा-टुक्रा पारिनेछौ, यति नराम्रोसित टुक्र्याइनेछौ कि ती टुक्राबाट जलेका अँगार उठाउने वा इनारबाट केही पानी उघाउनेसम्म खपटा पनि पाइनेछैन।”
15इस्राएलका परमपवित्र सार्वभौम परमप्रभु मानिसहरूलाई यसो भन्नुहुन्छ, “फर्केर आओ र शान्त भई ममाथि भरोसा गर। तब तिमीहरू बलिया र सुरक्षित हुनेछौ।” तर तिमीहरू त्यसो गर्न मान्दैनौ! 16त्यसका सट्टामा तिमीहरू तेज घोडामा सवार भई शत्रुहरूबाट भाग्ने युक्ति गर्दछौ। अनि त्यो ठीकै पनि हो किनभने तिमीहरू भाग्नु त पर्छ नै। तिमीहरू आफ्ना घोडा खुब छिटा छन् भन्ठान्छौ तर तिमीहरूलाई खेद्नेहरूका घोडा झन् छिटा छन्! 17एउटा शत्रुको सिपाही देखा पर्दा तिमीहरू हजार जना भाग्नेछौ र त्यसका पाँच जना सिपाही भए, तिमीहरू सबै भाग्नेछौ। डाँडाको टुप्पामा एउटा झन्डा लाउने घोचोबाहेक तिमीहरूका सेनाको अरू केही नामनिशाना रहनेछैन! 18तरै पनि परमप्रभु तिमीहरूलाई आफ्नो कृपा देखाउन पर्खिरहनुभएको छ। उहाँ तिमीहरूमाथि करुणा देखाउन तयार हुनुहुन्छ किनभने उहाँले सधैँ उचित कुरा गर्नुहुन्छ। परमप्रभुमा भरोसा राख्नेहरू सुखी मानिसहरू हुन्।
परमेश्वरले आफ्ना प्रजालाई आशिष् दिनुहुनेछ
19तिमी यरूशलेमका बासिन्दाहरू अब उसो रुनेछैनौ। परमप्रभु दयालु हुनुहुन्छ र तिमीहरूले मद्दतको निम्ति उहाँलाई पुकार्दा उहाँले जवाफ दिनुहुन्छ। 20परमप्रभुले तिमीहरूलाई सङ्कष्टको समयमा जान लगाए पनि उहाँ आफैं तिमीहरूलाई शिक्षा दिन तिमीहरूका साथ रहनुहुनेछ र तिमीहरूले अझै उहाँको खोजी गर्नुपर्दैन। 21तिमीहरूले दायाँ वा बायाँ बाटो बिरायौ भने पछिल्तिरबाट उहाँको सोर सुन्नेछौ, “बाटो यही हो। यसैमा हिँड्।” 22तिमीहरूले आफ्ना सुन र चाँदीले मोहोरेका मूर्तिहरू निकालेर कसिङ्गरझैँ यसो भन्दै फ्याँक्नेछौ, “मेरो दृष्टिबाट टाढा हो।” 23जहिले-जहिले तिमीहरू बिउ छरौला, ती उमार्नलाई परमप्रभुले झरी पठाइदिनुहुनेछ, भूमिले प्रशस्त अन्नबाली दिनेछ। अनि तिमीहरूका पाल्तु पशुले प्रशस्त चरन पाउनेछन्। 24तिम्रा बारी जोत्ने गोरु र गधाहरूले सबैभन्दा उत्तम घाँस र दाना खानेछन्। 25तिम्रा शत्रुहरूका किल्लाहरू कब्जा गरेको, तिनका मानिसहरू संहार भएको दिन, हरेक डाँडा र पर्वतबाट खोलाका पानी बगिआउँनेछन्। 26जूनचाहिँ घाम जत्तिकै चम्किलो हुनेछ र घाम सधैँभन्दा सात गुणा चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केझैँ हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई लगाउनुभएको चोटमा पट्टी बाँधेर जाती पार्नुभएको दिन यी कुरा पूरा हुनेछन्।
परमेश्वरले अश्शूरलाई दण्ड दिनुहुनेछ
27परमप्रभुको शक्ति र महिमा टाढैबाट देखिंदै छ। आगो र धुवाँले उहाँको क्रोध प्रकट गर्छ। उहाँ बोल्नुहुँदा उहाँका वचन आगोजस्तै बल्दछ। 28उहाँको सास सबै कुरा बगाउने बाढीजस्तो छ। त्यस सासले जाति-जातिलाई विनाशमा पुर्याउँछ र तिनका दुष्ट युक्ति अन्त गराउँछ। 29तर तिमीहरू परमेश्वरका प्रजाचाहिँ आनन्दित हुनेछौ र पवित्र चाडमा रातमा झैँ हर्षका गीत गाउनेछौ। इस्राएलको बचाउ गर्नुहुने परमप्रभुको मन्दिरमा जाँदा बाँसुरी बजाई त्यसको सुरमा हिँड्ने मानिसहरूझैँ तिमीहरू खुसी हुनेछौ।
30परमप्रभुले एक-एक जनालाई आफ्नो गौरवशाली सोर सुन्न र क्रोधको प्रताप थाहा गर्न दिनुहुनेछ। आगोको ज्वाला मेघका गड्याङ-गुडुङ, असिनाका आँधी र वर्षाको मुसलधारे पानी आउँनेछ। 31अश्शूरीहरू परमप्रभुको सोर सुनेर डराउनेछन् र उहाँको दण्ड पाएर लड्नेछन्। 32परमप्रभुले बारम्बार दण्डको प्रहार गर्नुहुँदा उहाँका मानिसहरू वीणा र ढोल बजाएर त्योसित सङ्गीतको ताल मिलाउनेछन्। अश्शूरीहरूको विरुद्धमा परमेश्वर आफैं लड्नुहुनेछ। 33धेरै दिनअघि अश्शूरका महाराजालाई जलाउन ठूलो आगो बाल्ने एउटा ठाउँ तयार गरिएको थियो। त्यो ठाउँ फराकिलो र गहिरो छ र त्यसमा दाउराको रास अग्लो पारी थुपारिराखेको छ। परमप्रभुले सास फेर्नुहुँदा आगाको ज्वालाको धारा निकाल्नुहुनेछ र आगो सल्काई त्यसमा लगाइदिनुहुनेछ।
Currently Selected:
यशैया 30: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.