YouVersion Logo
Search Icon

यशैया 25

25
प्रशंसाको भजन
1परमप्रभु, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ,
म तपाईंलाई आदर गर्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु।
तपाईंले उदेकका कामहरू गर्नुभएको छ,
तपाईंले आफ्‍ना धेरै दिनअघिका योजनाहरू विश्‍वाससाथ पूरा गर्नुभएको छ।
2तपाईंले सहरहरू ध्‍वस्‍त पार्नुभएको छ र तिनीहरूका गढ नष्‍ट गर्नुभएको छ।
शत्रुहरूले बनाएका राजमहलहरू सदाका लागि नामेट भएका छन्।
3शक्तिशाली जातिहरूले तपाईंको प्रशंसा गर्नेछन्।
निष्‍ठुर जातिका सहरहरूमा तपाईंको भय मानिनेछ।
4गरीब र असहायहरूका निम्‍ति तपाईं बलियो शरणस्‍थान हुनुहुन्‍छ।
तपाईंले तिनीहरूलाई आँधीबाट शरण र डढाउने घामबाट छायाँ दिनुभएको छ,
निष्‍ठुर मानिसहरूले पर्खालमा ठोकिएको आँधीझैँ
5र सुख्‍खा ठाउँमा खडेरी परेझैँ हमला गर्छन्।
तर परमप्रभु, तपाईंले हाम्रा शत्रुहरूका मुखमा बुजो लाइदिनुभएको छ,
बादलले गरम दिनलाई शीतल बनाएझैँ
तपाईंले निष्‍ठुर मानिसहरूको सोर बन्‍द गरिदिनुहुन्‍छ।
6यहाँ सियोन पर्वतमा सर्वशक्तिमान् परमप्रभुले पृथ्‍वीका सबै जातिहरूका निम्‍ति एउटा भोजन तयार गर्नुहुनेछ। त्‍यो भोज स्‍वादिष्‍ट भोजन र उत्तम मद्यले पूर्ण हुनेछ। 7यहाँ अचानक उहाँले सबै जातिहरूमाथि झुन्‍डिरहेको शोकको बादल हटाइदिनुहुनेछ। 8#१ कोरिन्थी 15:54; प्रकाश 7:17; 21:4सार्वभौम परमप्रभुले सधैँभरिका लागि मृत्‍युलाई नाश गर्नुहुनेछ! उहाँले प्रत्‍येकका आँखाबाट आँसु पुछिदिनुहुनेछ र सारा जगत्‌मा आफ्‍ना प्रजाले भोगेका बदनाम हटाइदिनुहुनेछ। परमप्रभु आफैंले यो कुरा भन्‍नुभएको छ!
9त्‍यसो भएपछि सबैले भन्‍नेछन्, “उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ! हामीले उहाँमा भरोसा राखेका छौं र उहाँले हामीलाई उद्धार गर्नुभएको छ। उहाँ नै परमप्रभु हुनुहुन्‍छ। हामीले उहाँमाथि भरोसा राखेका छौं र अहिले आनन्‍द र रमाहट गर्दछौं किनभने उहाँले हामीलाई बचाउनुभएको छ।”
मोआबमाथि परमेश्‍वरको दण्‍ड
10 # यशैया 15:1—16:14; यर्मिया 48:1-47; इजकिएल 25:8-11; आमोस 2:1-3; सपन्‍याह 2:8-11 परमप्रभुले सियोन पर्वतलाई रक्षा गर्नुहुनेछ तर मोआबका मानिसहरू भने गोबरमा पराल कुल्‍चिएझैँ कुल्‍चाइनेछन्। 11पौडने चेष्‍टा गरेझैँ तिनीहरूले आफ्‍ना हात पसार्नेछन्। तर परमेश्‍वरले तिनीहरूको सेखी झार्नुहुनेछ र असहाय भएर तिनीहरूका हात डुबिजानेछन्। 12उहाँले मोआबका गढहरू तिनका अग्‍ला पर्खालहरूसहित नष्‍ट गर्नुहुनेछ र तिनलाई ढालेर धुलोमा मिलाइदिनुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in