YouVersion Logo
Search Icon

होशे 8

8
इस्राएलमाथि मूर्तिपूजाको दोष
1परमप्रभु भन्‍नुहुन्‍छ, “तुरही फुक र चेतावनी देऊ। शत्रुहरू चिलझैँ वेग हानेर मेरो देशमाथि आइरहेका छन्। मेरा प्रजाले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गरेका छन् र मेरो व्‍यवस्‍थाको विरोध गरेका छन्। 2इस्राएलले मलाई “हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्‍वीकार गर्छौं,” भनी पुकारे पनि 3जे कुरा असल छ, त्‍यसलाई अस्‍वीकार गरेका छन्। त्‍यसकारण तिनीहरूका शत्रुले तिनीहरूलाई खेदो गर्नेछन्।
4“मेरा प्रजाले आफ्‍ना राजाहरू चुने; तर त्‍यो काम आफ्‍नै खुसीले गरे। मेरो अनुमतिबिना नै तिनीहरूले आफ्‍ना अगुवाहरू खटाए। तिनीहरूले आफ्‍ना सुन र चाँदी लिई मूर्तिहरू बनाएर आफैंमाथि नाश ल्‍याए। 5सामरियाका सहरहुँदो मेरा प्रजाले पुजेका सुनका साँढेलाई म घृणा गर्दछु। म तिनीहरूसित औधी रिसाएको छु। अब तिनीहरूले कहिले मूर्तिपूजा त्‍याग्‍ने हो? 6यो त एउटा इस्राएली कारिगरले बनाएको साँढेको मूर्ति न हो; तर यो ईश्‍वर हुँदै होइन सामरियामा पुजिने सुनको साँढे टुक्रै-टुक्रा पारेर नष्‍ट गरिनेछ। 7बतास छर्नेहरूले आँधी-बेहरी बटुल्‍नेछन्। बारीको बाली नपाकेसम्‍म रोटी बनिन सक्‍दैन। तर रोटी पाइहाले पनि त्‍यो विदेशीहरूको मुखमापर्नेछ। 8इस्राएल अरू जातिजस्‍तै बनिसकेको छ र फुटेको भाँडाजस्‍तै बेकामे भएको छ। 9इस्राएलका मानिसहरू जङ्गली गधाझैँ ढिट भएर आफ्‍नै सुरमा हिँडिरहन्‍छन्। तिनीहरू अर्कै बाटो भएर अश्‍शूरसँग सहायता माग्‍न पुगेका छन् र आफ्‍ना बचाउका निम्‍ति अरू जातिहरूलाई ज्‍याला तिरेका छन्। 10तर अब म तिनीहरूलाई एकसाथ जम्‍मा गर्नेछु र दण्‍ड दिनेछु। चाँडै अश्‍शूरका राजाले तिनीहरूमाथि अत्‍याचार गर्नेछन् र तिनीहरू वेदनाले छट्पटिनेछन्।
11“पाप कटनीको निम्‍ति जति धेरै वेदीहरू इस्राएलीहरूले बनाउलान्, उति नै धेरै पाप गर्ने ठाउँहरू बनिनेछन्। 12म व्‍यवस्‍थामा धेरै शिक्षा तिनीहरूको निम्‍ति लेख्‍छु तर तिनीहरूले ती सबै अनौठा र विदेशी नियम भनी इन्‍कार गर्छन्। 13तिनीहरूले मलाई बलि चढाउँछन् र बलिका मासु खान्‍छन्। तर म परमप्रभु तिनीहरूसित खुसी छैनँ। अब मैले तिनीहरूका पाप सम्‍झँदै तिनीहरूलाई दण्‍ड दिनेछु। म तिनीहरूलाई मिश्रमा फर्कन लाउनेछु।
14“इस्राएलका मानिसहरूले राजमहलहरू बनाएका छन् तर तिनीहरूले आफ्‍ना सृष्‍टिकर्तालाई भुलेका छन्। यहूदाका मानिसहरूले किल्‍ला बनाएर सहरहरू सुरक्षित पारेका छन्। तर म आगो पठाएर तिनीहरूका राज-महल र सहरहरू भस्‍म पार्नेछु।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in