YouVersion Logo
Search Icon

होशे 5

5
1“हे पूजाहारीहरू हो, यो कुरा सुन! हे इस्राएलका मानिसहरू हो, कान थापेर सुन! हे राज-घरानाका सन्‍तान हो, ध्‍यानसित सुन! तिमीहरूले न्‍यायसित फैसला गर्नुपर्थ्‍यो। यसकारण न्‍याय तिमीहरूमाथिपर्नेछ। तिमीहरू मिस्‍पामा एउटा पासो र तबोर डाँडामा फिँजाएका जाल भएका छौ। 2तिमीहरू शित्तीममा एउटा गहिरो खाडल भएका छौ र म तिमीहरूलाई दण्‍ड दिनेछु। 3इस्राएल कस्‍तो छ, म जान्‍दछु, त्‍यो मबाट लुक्‍नै सक्‍दैन। त्‍यसले विश्‍वासघात गरेको छ र त्‍यसका मानिसहरूले मेरो उपासना गर्न सुहाउँदैन।”
मूर्तिपूजाको विरुद्धमा होशेको चेतावनी
4मानिसहरूले गरेका दुष्‍ट कामहरूले तिनीहरूलाई परमेश्‍वरकहाँ फर्कन दिँदैन। तिनीहरू मूर्तिपूजामा यति लीन भइसकेका छन् कि तिनीहरू परमप्रभुलाई स्‍वीकार्दैनन्। 5इस्राएलका मानिसको अहङ्कारले तिनीहरूकै विरुद्धमा बोल्‍दछ। तिनीहरूका पापले तिनीहरूलाई ठोकर खुवाएर लडाउँछ अनि यहूदाका मानिसहरू पनि तिनीहरूसितै लड्छन्। 6तिनीहरू आफ्‍ना भेडा-बाख्राहरू र गाई-गोरुहरू परमप्रभुकहाँ बलि चढाउन लिएर त जान्‍छन्; तर त्‍यसले तिनीहरूलाई केही लाभ हुँदैन। तिनीहरूले उहाँलाई भेट्टाउन सक्‍दैनन् किनभने उहाँले तिनीहरूलाई त्‍याग्‍नुभएको छ। 7तिनीहरूले परमप्रभुसित विश्‍वासघात गरेका छन्। तिनीहरूका छोरा-छोरीहरू परमप्रभुका होइनन्। यसकारण अब तिनीहरूका औंसीका चाड-बाडले तिनीहरू र तिनीहरूका जमिनलाई स्‍वाहा पार्नेछ।
यहूदा र इस्राएल बीचमा युद्ध
8गिबामा लडाइँको नर्सिङ्गा फुक! रामामा तुरही फुक! बेथ-आवनमा लडाइँको सोर उठाओ! ए बेन्‍यामीनका बासिन्‍दाहरू हो, लडाइँ गर्न जाओ। 9दण्‍डको दिन आइरहेको छ, इस्राएल नाश भएर जानेछ। हे इस्राएलका मानिसहरू हो, यो निश्‍चय हुनेछ।
10परमप्रभु भन्‍नुहुन्‍छ, “यहूदाका अगुवाहरूले इस्राएललाई आक्रमण गरे र त्‍यसका सिमाना मिचेर लगे, त्‍यसकारण म रिसाएको छु। त्‍यसैले म तिनीहरूमाथि मेरो क्रोध पानीको भलझैँ खन्‍याउनेछु। 11इस्राएलमाथि अत्‍याचार भइरहेको छ, आफ्‍ना हकको जमिन त्‍यसले गुमाएको छ किनभने जसले त्‍यसलाई सहायता गर्न सक्‍दैनथ्‍यो त्‍यसकै पछि लाग्‍ने त्‍यसले ढिपी गर्‍यो। 12घुनले अन्‍न नाश गरेझैँ म इस्राएलमाथि विनाश ल्‍याउनेछु र काठ मक्‍किएझैँ यहूदाको सर्वनाश गर्नेछु।
13“जब इस्राएलले आफ्‍नो रोग र यहूदाले आफ्‍नो चोट देखे, तब इस्राएल सहायता माग्‍न अश्‍शूरका महान् सम्राटकहाँ गयो; तर त्‍यसले तिनीहरूका रोग वा चोट निको पार्न सकेन। 14सिंहझैँ म इस्राएल र यहूदाका मानिसहरूमाथि आक्रमण गर्नेछु। म आफैंले तिनीहरूलाई टुक्रा-टुक्रा पारेर छोड्‍नेछु। जब म तिनीहरूलाई घिस्‍स्‍याएर लैजानेछु, तब कसैले तिनीहरूलाई बचाउन सक्‍नेछैन।
15“मेरा प्रजाले आफ्‍ना पापको निम्‍ति हुनसम्‍मको कष्‍ट भोगेर मेरो खोजी गरी नफर्केसम्‍म म तिनीहरूलाई त्‍याग्‍नेछु। आफ्‍ना कष्‍टमा तिनीहरूले मलाई खोज्‍नेछन्।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in