YouVersion Logo
Search Icon

होशे 14

14
इस्राएललाई परमेश्‍वरतर्फ फर्कने होशेको बोलावट
1हे इस्राएलका मानिसहरू हो, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्की आओ। तिम्रा पापले तिमीहरूलाई ठोकर दिएर पतन गराएको छ। 2परमप्रभुकहाँ फर्क र उहाँलाई यस्‍तो प्रार्थना चढाओ, “हामीहरूका सबै पाप क्षमा गर्नुहोस् र हाम्रा प्रार्थना ग्रहण गर्नुहोस् र हामीले गरेका प्रतिज्ञाअनुसार हामी तपाईंको प्रशंसा गर्नेछौं। 3अश्‍शूरले कहिल्‍यै हामीलाई बचाउन सक्‍दैन र युद्धका घोडाहरूले हाम्रो रक्षा गर्न सक्‍दैनन्। हामीसित भएका हाम्रा हातले बनाएका मूर्तिहरूलाई फेरि कहिल्‍यै हाम्रा परमेश्‍वर हौ भनी हामी भन्‍नेछैनौं। हे परमप्रभु, टुहुरा-टुहुरीलाई तपाईंले कृपा देखाउनुहुन्‍छ।”
इस्राएललाई नयाँ जीवनको प्रतिज्ञा
4परमप्रभु भन्‍नुहुन्‍छ, “म आफ्‍नो प्रजालाई मकहाँ फर्काई ल्‍याउनेछु,
म सम्‍पूर्ण हृदयले तिनीहरूलाई प्रेम गर्नेछु; अबदेखि उसो म तिनीहरूसित रिसाउनेछैनँ।
5म इस्राएलीहरूका निम्‍ति सुखा भूमिमा पर्ने वर्षाझैँ छु।
तिनीहरू फूलहरूका कोपिलाझैँ फक्रिनेछन्।
तिनीहरूले लेबनानका रूखहरूजस्‍तै जमिनभित्र जरा गड्‍नेछन्।
6तिनीहरू नयाँ भई जैतुनका रूखहरूझैँ जिउनेछन्
र तिनीहरू लेबनानका देवदारुहरूझैँ सुगन्‍धित हुनेछन्।
7फेरि एक पटक तिनीहरू मेरो सुरक्षामा जिउनेछन्।
तिनीहरू अन्‍नझैँ लहलह बढ्‍नेछन् र रूखको बोटझैँ फलदायी हुनेछन्।
तिनीहरू लेबनानको ख्‍याति प्राप्‍त दाखमद्यझैँ हुनेछन्।
8इस्राएलका मानिसहरूको अब मूर्तिहरूसित कुनै सम्‍बन्‍ध हुनेछैन;
म तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु र तिनीहरूलाई हेरचाह गर्नेछु।
सधैँ हरियो रहने रूखझैँ म तिनीहरूलाई आश्रय दिनेछु;
म नै तिनीहरूका सबै आशिष्‌हरूको स्रोत हुँ।
आखिरी कुरा
9जो-जो बुद्धिमान् छन्, तिनीहरूले यहाँ लेखिएका कुराहरू बुझून् र आ-आफ्‍ना मनमा गुनून्। परमप्रभुका मार्गहरू ठीक छन्, तिनमा हिँडेर धर्मी मानिसहरू बाँच्‍छन्। तर पापीहरूचाहिँ तिनमा ठोकर खाएर लड्छन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in