होशे 13
13
इस्राएलमाथि आखिरी दण्डाज्ञा
1बितेका समयमा एफ्राइम कुल बोल्दा इस्राएलका अन्य कुलहरू डराउँथे। तिनीहरूले एफ्राइमलाई इज्जत गरेर हेर्थे। तर ती मानिसहरूले बाल देवताको पूजा गरेर पाप गरेका हुनाले तिनीहरू मर्नेछन्। 2अझै पनि धातुका मूर्तिहरू बनाएर अर्थात् मानिसले सोचेका आकारमा र मानिसका हातले रचेका चाँदीका मूर्तिहरू बनाएर तिनीहरूले पाप गरिरहेका छन्। अनि तिनीहरू भन्छन्, “यी मूर्तिहरूलाई बलि चढाऔं।” कसरी मानिसहरूले ती साँढेका रूपमा बनाएका मूर्तिहरूलाई म्वाइँ खान सक्छन्? 3यी मानिसहरू बिहानको कुइरोझैँ हराउनेछन्, बिहानै बिलाउने शीतझैँ मेटिनेछन्। तिनीहरू गहुँ पिट्ने ठाउँबाट बतासले उडाएका भुस तथा चुलोबाट निस्कने धुँवाजस्तै हुनेछन्।
4परमप्रभु भन्नुहुन्छ, “म परमप्रभु, तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मबाहेक तिमीहरूको अर्को कुनै परमेश्वर छैन। म मात्र तिमीहरूको उद्धारकर्ता हुँ। 5#व्यवस्था 8:11-17मैले तिमीहरूलाई सुखा मरुभूमिमा छँदा तिमीहरूको हेरचाह गरें। 6तर जब तिमीहरू त्यो असल भूमिमा पस्यौ, तब तिमीहरूको पेट भरियो र तिमीहरू सन्तुष्ट भयौ, त्यसपछि तिमीहरू घमण्डी भयौ र मलाई भुल्यौ। 7यसकारण म तिमीहरूलाई सिंहले झैँ झम्टनेछु। चितुवाले झैँ म तिमीहरूको बाटो ढुकी बस्नेछु। 8बच्चा हराएकी माउ भालुझैँ म तिमीहरूमाथि आक्रमण गर्नेछु र तिमीहरूलाई च्यातचुत पार्नेछु। सिंहले झैँ म तिमीहरूलाई भेटेकै ठाउँमा निल्नेछु र जङ्गली जनावरले झैँ फहराएर धुजैधुजा पार्नेछु।
9“हे इस्राएलका मानिसहरू हो, म तिमीहरूलाई नाश पार्नेछु। अब कसले तिमीहरूलाई गुहार गर्ने? 10#१ शमूएल 8:5,6तिमीहरूले राजा र अगुवाहरू माग्यौ, तर कसरी तिनीहरूले तिम्रा जातिलाई बचाउन सक्लान्? 11#१ शमूएल 10:17-24; १ शमूएल 15:26रिसमा मैले तिमीहरूलाई राजा दिएँ र क्रोधमा त्यसलाई उठाई लगें।
12“इस्राएलका पाप र अपराधको हिसाब लेखिएको छ र त्यो लेखोट सुरक्षासाथ राखिएको छ।
13इस्राएलको बाँच्ने आशा त छ तर त्यसले त्यो मौका लिन चाहँदैन। त्यो जन्मन आँटेको तर आमाको कोखबाट निस्कन नचाहने समझ नभएको बच्चाजस्तो छ। 14#१ कोरिन्थी 15:55के म यस जातिलाई मृत-लोकदेखि बचाऊँ? के मृत्युको शक्तिबाट उद्धार गरूँ? ए मृत्यु, खोइ तेरा रुढीहरू? ए पाताल, खोइ तेरो विनाश? म अब यस जातिलाई टिठ्याउनेछैनँ।
15इस्राएल जङ्गली झारपातझैँ मौलाएर गए पनि म मरुभूमिबाट गर्मी पूर्वीय बतास पठाउनेछु र त्यसले त्यस देशका खोला-नाला र कुवाहरू सुकाइहाल्नेछ। त्यसले सबै मूल्यावान् कुराहरू उडाईलैजानेछ। 16मेरो विरुद्धमा विद्रोह गरेको हुनाले सामरियाले दण्ड भोग्नै पर्छ। त्यहाँका बासिन्दाहरू लडाइँमा मर्नेछन्, जमिनमा पछारिएर बच्चाहरू मारिनेछन् र गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”
Currently Selected:
होशे 13: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.