YouVersion Logo
Search Icon

प्रकाश 1

1
भूमिका
1येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले चाँड़ै हुन आउने कुराहरू आफ्‍ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्‍नो दूत पठाउनुभएर यो कुरा आफ्‍नो सेवक यूहन्‍नालाई प्रकट गरिदिनुभयो। 2यूहन्‍नाले देखेका सबै कुराहरूको, अर्थात्‌ परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको साक्षीको गवाही दिए। 3त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
अभिवादन र प्रशंसा-गान
4यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई:#1:4 ग्रीक भाषामा: एकलेसियाहरूलाई:
उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट,#प्रस ३:१४; प्रका ४:५ 5विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट।
हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई, #यशै ५५:४; भज ८९:२७ 6हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।#प्रस १९:६; प्रका ५:१०
7हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।#दान ७:१२; मत्ती २४:३०; मर्क १३:२६; लूक २१:२७; १ थेस ४:१७; जक १२:१०; यूह १९:३४,३७
8 “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ। #प्रका २२:१३; प्रस ३:१४
मानिसका पुत्रको दर्शन
9म यूहन्‍ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्‍ट, राज्‍य र सहनशीलतामा सहभागी छु। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर म पत्‍मोस भन्‍ने टापूमा थिएँ। 10प्रभुको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें, 11“तिमी जे देख्‍तछौ, सो एउटा पुस्‍तकमा लेख, र सातै वटा मण्‍डलीलाई पठाऊ, अर्थात्‌ एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियालाई।”
12मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान 13र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।#दान ७:१३; १०:५ 14उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।#दान ७:९; १०:६ 15उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो।#इज १:२४; ४३:२ 16उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो।
17जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य #यशै ४४:६; ४८:१२; प्रका २:८; २२:१३ 18र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌। 19यसकारण तिमीले जे देख्‍छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख। 20मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”

Currently Selected:

प्रकाश 1: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy