भजनसंग्रह 38
38
पीडित मानिसको प्रार्थना
सम्झनाको निम्ति दाऊदको भजन
1हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्।
2किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्,
र तपाईंको हात ममाथि परेको छ।
3तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्वस्थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्।
4मेरा अधर्महरूमा म शिरसम्म डुबिसकेको छु, मैले बोक्न नसक्ने गरी ती बढ़ी गह्रौँ भएका छन्।
5मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्
र सड़िसकेका छन्।
6म झुकेर धूलैमा लोटिसकेको छु, दिनभरि म विलाप गर्दै हिँड्छु।
7मेरो ढाड जलनले भरिएको छ,
र मेरो शरीरमा कत्ति पनि तन्दुरुस्ती छैन।
8म बिलकुल दुर्बल भएको छु,
र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्छु।
9हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्,
र मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10मेरो मुटु धड़कन्छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
11मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्छन्,
र मेरा कुटुम्बहरू टाढ़ै उभिन्छन्।
12मेरो प्राण लिन खोज्नेहरूले मलाई पासो थाप्छन्, मेरो हानि खोज्नेहरूले मेरो विनाशका कुरा गर्छन्,
र दिनभरि विश्वासघाती कल्पना रच्छन्।
13म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन।
र मुखै उघार्न नसक्ने मानिसजस्तै म गूँगो भएको छु।
14सुन्दै नसुन्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन।
15हे परमप्रभु, म तपाईंको प्रतीक्षा गर्छु, हे परमप्रभु मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ।
16किनकि मैले भनें, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
17किनकि म त ढल्नै लागेको छु,
र मेरो पीडा सधैँ मसँगै छ।
18म मेरो अधर्म स्वीकार गर्दछु, मेरो पापको निम्ति म दु:खित छु।
19धेरै मेरा शत्रुहरू छन् जो शक्तिशाली छन्, विनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्।
20भलाइको साटो मलाई खराबी गर्नेहरूले, मचाहिँ भलाइको पछि लाग्दा मेरो निन्दा गर्छन्।
21हे परमप्रभु, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, मबाट टाढ़ा नहुनुहोस्।
22हे परमप्रभु मेरा उद्धारक, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्।
Currently Selected:
भजनसंग्रह 38: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012