YouVersion Logo
Search Icon

भजनसंग्रह 33

33
सृष्‍टिकर्ता र पालनहार परमेश्‍वरको प्रशंसा
1हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ।
2वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्‍तुति गाओ।
3उहाँको निम्‍ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ।
4किनकि परमप्रभुको वचन ठीक र सत्‍य छ,
र उहाँका सबै काम विश्‍वस्‍ततामा हुन्‍छन्‌।
5परमप्रभुले धार्मिकता र न्‍यायलाई मन पराउनुहुन्‍छ। उहाँको अचूक कृपाले पृथ्‍वी भरिपूर्ण भएको छ।
6परमप्रभुको वचनले आकासहरू निर्माण भए,
र उहाँकै मुखको सासले त्‍यहाँका ग्रह-नक्षत्रहरू।
7उहाँले समुद्रको पानीलाई जम्‍मा गरेर एक थुप्रो पार्नुहुन्‍छ। उहाँले गहिरा सागरहरूलाई आफ्‍ना ढुकुटीमा राख्‍नुहुन्‍छ।
8सारा पृथ्‍वीले परमप्रभुको भय मानोस्‌ संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्‌।
9किनकि उहाँका मुखको वचनले सारा सृष्‍टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्‍यो स्‍थिर रह्यो।
10परमप्रभुले जाति-जातिका योजनाहरू रद्द तुल्‍याउनुहुन्‍छ, उहाँले मानिसहरूका विचार-विमर्शलाई विफल तुल्‍याउनुहुन्‍छ।
11तर परमप्रभुका योजनाहरू सदा स्‍थिर रहन्‍छन्‌, उहाँको हृदयका विचार पुस्‍तौँसम्‍म रहिरहन्‍छन्‌।
12त्‍यो जाति धन्‍यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू, जसलाई आफ्‍नो उत्तराधिकारको निम्‍ति उहाँले चुन्‍नुभयो।
13परमप्रभुले स्‍वर्गबाट हेर्नुहुन्‍छ,
र उहाँ सबै मानिसका सन्‍तानलाई देख्‍नुहुन्‍छ।
14आफ्‍नो वासस्‍थानबाट उहाँ पृथ्‍वीका सारा बासिन्‍दाहरूमाथि नजर राख्‍नुहुन्‍छ—
15उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्‍छ,
र तिनीहरू सबैका कामको विचार गर्नुहुन्‍छ।
16कुनै राजा आफ्‍नो ठूलो सेनाद्वारा बाँच्‍न सक्‍दैन, कुनै योद्धा आफ्‍नो ठूलो सामर्थ्‍यद्वारा बाँच्‍न सक्‍दैन।
17घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन।
18तर परमप्रभुको दृष्‍टि उहाँको भय मान्‍नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ,
19तिनीहरूका प्राणलाई मृत्‍युबाट छुटकारा दिन,
र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍न।
20हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्‍छ।
21उहाँमा नै हामी हर्षित हुन्‍छौं, किनभने उहाँको पवित्र नाउँमा हामी भरोसा राख्‍छौं।
22हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस्‌।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 33